काठमाडौँ, असोज २ :एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका २६० जना यात्रुमध्ये चारजनाको परिवारले विमान निर्माता बोइङविरुद्ध मुद्दा दायर गरेका छन् । उनीहरुले जहाज निर्माता कम्पनी बोइङ र एयरोस्पेस कम्पनी हनीवेल विरुद्ध पनि लापरबाहीको आरोपमा मुद्दा दायर गरेका हुन् ।
सन् २०२५ को जुन महिनामा भएको एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र हनीवेलविरुद्ध मुद्दा हालेका छन्। उनीहरूले लापरबाही र इन्धन नियन्त्रण गर्ने स्विचमा भएको खराबीका कारण २६० जनाको ज्यान गएको आरोप लगाएका छन्।
अहमदाबादबाट लन्डनतर्फ उडेको एयर इन्डियाको उडान नम्बर १७१ जुन १२ मा उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो। डेलावेयरको विशेष अदालतमा दायर गरिएको मुद्दामा पीडितहरुले बोइङ ७८७–८ ड्रीमलाइनरको स्विच अनायासै बन्द हुन सक्ने र यसले इन्धनको आपूर्ति रोकिने तथा उडानका लागि आवश्यक गतिमा कमी आउनेलगायतका प्राविधिक कमजोरीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।
पीडितहरुले बोइङ र हनीवेललाई यो जोखिमबारे पहिले नै थाहा भएको समेत आरोप लगाएका छन्। उनीहरूका अनुसार, अमेरिकी सङ्गीय उड्डयन प्रशासन (एफएए) ले सन् २०१८ मै बोइङका विमानहरूमा रहेको उक्त कमजोरीबारे चेतावनी दिएको थियो। ककपिटमा भएका स्विचहरू अनायासै थिच्न सकिने गरि राखिएको पीडितहरुको आरोप छ । तर, उड्डयन सुरक्षा विज्ञहरू भने स्विचको स्थान र डिजाइनका कारण तिनलाई त्यत्तिकै थिच्न नसकिने दावी गर्छन्।
भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) को प्रारम्भिक प्रतिवेदनले एयर इन्डिया निरीक्षणमा कमजोरी रहेको देखाएको छ । मर्मतसम्भारको रेकर्ड अनुसार, दुर्घटनामा परेको विमानमा सन् २०१९ र २०२३ मा इन्धन स्विच भएको थ्रोटल कन्ट्रोल मोड्युल फेरिएको थियो। विमानका दुई चालकबीचको ककपिट रेकर्डिङले मुख्य चालकले विमानको इन्जिनमा इन्धनको प्रवाह रोकेको देखाएको छ। जुलाईमा एफएका प्रशासक ब्रायन बेडफोर्ड ले यान्त्रिक समस्या वा इन्धन नियन्त्रणका उपकरणहरूको कारण दुर्घटना नभएकोमा आफू विश्वस्त रहेको बताएका थिए ।
यद्यपि, केही पीडित परिवारले अनुसन्धानकर्ता र मिडियाले पाइलटहरूको कमजोरीमा धेरै ध्यान केन्द्रित गरेको भन्दै आलोचना गरेका छन् । यो मुद्दा अमेरिकामा हवाई दुर्घटनासम्बन्धी पहिलो मानिएको छ । यसमा मृत्यु भएका २२९ यात्रुमध्ये कान्ताबेन धिरुभाई पाघादल, नाव्या चिराग पाघादल, कुबेरभाइ पटेल र बाबिबेन पटेलको परिवारले क्षतिपूर्तिको माग सहित मुद्दा दायर गरेको हो ।
विज्ञहरूका अनुसार, अमेरिकी अदालतहरू पीडितहरूका लागि बढी उदार भएको र वायुसेवा कम्पनीहरुको जस्तो विमान निर्माता कम्पनीहरुले तिर्ने क्षतिपूर्ति र हर्जाना दिने सीमा नभएकाले सिधै विमान निर्माताविरुद्ध मुद्दा हाल्ने गरिन्छ । यसअघि बोइङले आफनो ७३७ म्याक्स विमानको सन् २०१८ र २०१९ मा भएको दुईवटा दुर्घटनामा कानुनी र अन्य खर्चमा २० अर्ब डलरभन्दा बढी व्यहोरेको थियो । साथै उक्त विमानलाई २० महिनासम्म उडानमा रोक समेत लगाइएको थियो ।