09/18/2025, 12:21:12
बिहिबार, असोज ०२, २०८२

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क


उदयपुर, असोज २ :  कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क दिने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा. गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिएका हुन् । ‘ओपीडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन, सेवाग्राहीले तिनुपर्ने रकमको सोधभर्ना कटारी नगरपालिकाले दिने भएको छ’, सूचनामा उल्लेख छ ।

योसँगै अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने भएका छन् । ‘यसमा २० प्रतिशत जति बीमित पनि पर्छन्’, प्रमुख साहले भने । नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रस्तावमा समितिले नगरपालिकाले सोधभर्ना गर्नेगरी सेवा निःशुल्क गरेको हो ।

चालु आर्थिक वर्षदेखि कटारी अस्पताल केन्द्र सरकारको निर्णयमा प्रादेशिक अस्पताल बनेको हो । प्रादेशिक अस्पताल बन्नुअघि यो नगरकै जिम्मामा थियो ।

प्रादेशिक तहमा स्तरोन्नति भएसँगै अब विभिन्न विशेषज्ञ उपचार सेवा समेत दिने तयारीमा अस्पताल रहेको छ । अस्पतालले बहिरङ्ग सेवाका लागि प्रतिबिरामी २० रुपैयाँ लिँदै आएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..