12/23/2025, 12:58:30
मङ्गलबार, पुष ०८, २०८२

निर्वाचनको तयारी तीव्र, दलका गतिविधि भने सुस्त

आयोगले निर्वाचन तयारी सुरु गरिरहेका बेला गाउँघरमा भने राजनीतिक दलका निर्वाचनका लागि प्रशासनिक तयारी अगाडि बढे पनि दलका निर्वाचनकेन्द्रित गतिविधि भने सुस्त रहेका छन् ।


पाख्रीबास (धनकुटा), पुस ८ गते । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाका सबै सुरक्षा निकाय र निर्वाचन कार्यालयले आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएका हुन् ।

निर्वाचनका लागि सुरक्षा समिति, मतदान स्थल र केन्द्रको अवस्था निरीक्षण र सुरक्षा योजनाको तयारी भइरहेको छ । चार नगरपालिका र तीन गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको धनकुटामा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा रहेका जिल्ला सुरक्षा समिति मतदान स्थल र केन्द्रको निरीक्षण अनुगमनलाई तीव्रता दिएको छ । उक्त अनुगमन टोलीले गाउँ गाउँ पुगेर सुरक्षाव्यवस्थाको प्रभावकारिता जाँच, प्रशासनिक कमजोरीको सुधारका साथै ठाउँ ठाउँमा स्थानीयलाई भेटेर निर्वाचनका लागि जनविश्वास अभिवृद्धि गर्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । उहाँले मतदान स्थलको अवस्था, सुरक्षा व्यवस्थापन, मतपेटिकाको ढुवानीको प्रबन्ध लगायतका विषयको योजना बनिरहेको पनि जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी खड्का, प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्री, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देल  र नेपाली सेनासहितको सुरक्षा संयन्त्र टोली मतदान स्थलको अवस्था बुझ्न गाउँ गाउँ पुगेको उहाँले बताउनुभयो ।

धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार सुरक्षा संयन्त्र भूगोल र सडकको अवस्था, जोखिम मूल्याङ्कन, जनशक्ति परिचालन, भौतिक सुरक्षा व्यवस्थापन, मतपेटिका र मतदान सामग्री ढुवानी, भिड नियन्त्रण, आकस्मिक व्यवस्थापन, प्रभावकारी समन्वय र सञ्चारका लागि स्थलगत अध्ययन र रणनीतिक योजना निर्माणमा जुटेको छ । उहाँले भन्नुभयो, “तोकिएका केन्द्र अनुसार सुरक्षाकर्मी प्रहरीको मोबाइल र रिजर्भ टोली परिचालन, क्विक रेस्पोन्स कति खटाउने भनेर अध्ययन भएको छ । प्रभावकारी सम्पर्क र मद्दत व्यवस्थापनका लागि बाटोघाटो र भूगोलको समेत अध्ययन गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा ११९ मतदान स्थल तय भएका छन् । मतदान स्थलको टुङ्गो लागे पनि मतदान केन्द्रको सङ्ख्या भने केही थपघट हुन सक्ने छ । यसअघिका निर्वाचनमा धनकुटाका ११९ मतदान स्थलमध्ये ५४ सामान्य, ४९ संवेदनशील र १६ मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको थियो । तिनै निर्वाचन स्थल र केन्द्रको स्थलगत अनुगमन गरी थप सुरक्षा विश्लेषण र स्तर निर्धारण गरिने बताइएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीका अनुसार कार्यालयले मतदाता नामावली अद्यावधिक, दाबीविरोधको काम चलिरहेको बताउनुभयो । यस्तै एउटै वडाभित्र आफूलाई पायक पर्ने केन्द्र रोजेर परिवर्तन गर्न सकिने, मतदाता विवरणका त्रुटि सच्याउने, मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउने र अन्तिम नामावली प्रकाशनको तयारीमा जुटेको उहाँको भनाइ रहेको छ ।

आयोगले निर्वाचन तयारी सुरु गरिरहेका बेला गाउँघरमा भने राजनीतिक दलका निर्वाचनका लागि प्रशासनिक तयारी अगाडि बढे पनि दलका निर्वाचनकेन्द्रित गतिविधि भने सुस्त रहेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले भने निर्वाचनका लागि पार्टी आफ्नो तरिकाले तयारीका साथ अगाडि बढेको र सम्पूर्ण तयारीसमेत पूरा रहेको बताउनुभयो । यस्तै सरकारले निर्वाचनको मिति तोके पनि तोकिएको मितिमा निर्वाचनको सम्भावना नरहेको एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बू बताउनुहुन्छ ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता हेमचन्द्र किराँती भने पार्टी समायोजनका कामले थोरै अलमल भए पनि आफ्नो पार्टी निर्वाचनका लागि तयार रहेको बताउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश सदस्य दीपक गुरागाईंले भने १४ वटै जिल्लामा सङ्गठन विस्तार र प्रतिनिधि सभाका लागि उम्मेदवार प्रारम्भिक छनोट प्रव्रिmया सुरु गरिसकेको बताउनुभयो ।

– सन्तोष सुवेदी