12/25/2025, 22:30:30
बिहिबार, पुष १०, २०८२

ताप्लेजुङमा रोकिएन भालुको आतङ्क


ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङमा जङ्गली जनावर भालुले निरन्तर आतङ्क मच्चाइरहेको छ । जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पछिल्लो दुई सातायता भेडाबाख्रा खानुका साथै आक्रमण गरेर भालुले निरन्तर आतङ्क मच्चाइरहेको हो ।

गाउँबस्तीतिरै पसेर जङ्गली भालुले आतङ्क मच्चाइरहेको अर्थात् क्षति गरिरहेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत मङ्सिर २८ गतेदेखि फुङ्लिङ नगरपालिकामा भालुले भेडाबाख्रा खाएर खानुका साथै आक्रमण गरेर क्षति पुर्‍याइरहेको हो । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा मङ्सिर अन्तिमदेखि पुस ८ गते मङ्गलबार बिहानसम्म भालुले क्षति गरेको छ।

एक साता बढी समयसम्म हाङ्देवाको धुपौरे गाउँमा किसानले पालेका भेडाबाख्रा  खाएर आतङ्क मच्चाएको भालुले मङ्गलबार रातिदेखि वडा १० फुरुम्बुमा सरेर क्षति गर्न थालेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार फुरुम्बुतर्फ सरेर आतङ्क मच्चाउन थालेको भालुले फुरुम्बुमा तीनवटा बाख्रा खाइसकेको छ ।

मङ्गलबार राति फुरुम्बु गढीडाँडाका स्थानीय मनिराज गुरुङको एउटा बाख्रा भालुले खाएको ओझाले जानकारी दिनुभयो । त्यस्तै बुधबार राति फुरुम्बुकै स्थानीय पोष्टबहादुर कार्कीका दुईवटा बाख्रा भालुले खाएको छ । खोर तथा गोठमा राखिएका बाख्राहरु भालुले खानुका साथै आक्रमण गर्ने गरेको स्थानीयले बताएका छन् ।

blog

यसअघि हाङ्देवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा करिव एक साताको अवधिमा विभिन्न किसानका एउटा भेडा र सातवटा बाख्रा भालुले खाएको थियो । त्यस्तै भालुले तीनवटा बाख्रालाई आक्रमण गरी घाइते बनाएको छ । यसरी एक ठाउँबाट अर्को ठाउँमा सर्दै भालुको आतङ्क नरोकिएपछि स्थानीयवासी त्रसित बन्न थालेका छन् । भालुको आतङ्क नरोकिएपछि सर्वसाधारण किसान रातभर जाग्राम नै बस्न थालेका बताइएको छ ।

यता स्थानीय किसानले पालेका पशुचौपाया जङ्गली भालुले खाएर आतङ्क मच्चाउन थालेपछि डिभिजन वन कार्यालयको अगुवाइमा प्रभावित क्षेत्रमा स्थलगत अनुगमनसमेत गरिएको छ । डिभिजन वन कार्यालयको अगुवाइमा सामुदायक वनका प्रतिनिधि, प्रहरी र स्थानीय जनप्रतिनिधिसमेत संलग्न रहेको सरोकारवालाको टोलीले भालुले क्षति गर्दै आएको ठाउँको स्थलगत अनुगमन गर्ने गरेको छ ।

यता भालुको निरन्तरको आतङ्क नरोकिएपछि भालु नियन्त्रण गर्ने उद्देश्यले फलामे रडले निर्माण गरिएको खोर (पासो)समेत राखिएको छ । बुङ्कुलुङ धुरौरेका किसान नारायण भण्डारीको बाख्रा राख्ने खोरसँगै भालु नियन्त्रण गर्ने खोर राखिएको फेकोफनका जिल्ला अध्यक्ष ओझाले जानकारी दिनुभयो । हाङ्देवामा मङ्गलबार भालु नियन्त्रण गर्ने खोर राखिएको र सोही दिन रातिदेखि भने फुरुम्बुमा भालुले क्षति गर्न थालेको छ ।

यसरी भालुले एक ठाउँदेखि अर्को ठाउँ सर्दै निरन्तर पशुचौपाया क्षति गर्न (मार्न) थालेपछि स्थानीय चिन्तित बनेका छन् । भालुले पशुचौपाया मात्र नभई मानिसमाथि नै आक्रमण गर्नसक्ने भन्दै स्थानीयवासी त्रसितसमेत बन्दै आएका छन् । पशुचौपाया खाएर आतङ्क मच्चाउने भालु नियन्त्रण गर्ने वा खेदाउने उपायको खोजी गर्नुपर्ने विषय पनि किसानले उठाउन थालेका छन् ।

– चन्द्र पन्दाक