सर्लाही, असोज १ : सर्लाहीका बजारमा बुधबार बिहानैदेखि विश्वकर्मा पूजामा प्रयोग हुने सरसामग्रीको उल्लेख्य रुपमा व्यापार भइरहेको छ ।
जिल्लाको लालबन्दी, नवलपुर, हरिवन, बागमती, बरहथवा, मलङ्गवा, हरिपुर, बयलवास लगायत प्रत्येक गाउँका बजारमा विश्वकर्मा पूजामा प्रयोग हुने सामग्रीको राम्रो व्यापार भइरहेको हो । विश्वकर्मा पूजामा सवारी साधन, कलकारखाना, उद्योग र मेशिनरी सरसामग्री रहने कार्यालयहरुमा विशेष पूजा गर्ने गरिन्छ ।
बजारमा बिहानैदेखि ध्वजा पतका, सयपत्री फूल तथा प्लाष्टिकका माला, मिठाई, केरा, स्याउ, नरिवललगायतका फलफूलको राम्रो व्यापार भइरहेको व्यापारीले बताएका छन् । विश्वकर्मा पूजा सामग्री किन्नेहरुको भीडभाडले गर्दा बजारमा मानिसको चहलपहल पनि बढेको देखिन्छ ।
असोज सङ्क्रान्तिका दिन भएकाले प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले आज विश्वकर्माको पूजा–आराधना गर्ने गर्छन् । सनातन धर्ममा विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन् ।
यो दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ । प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन् । विश्वकर्मा खुशी भए उहाँको गुण आफूमा पनि प्राप्त हुने विश्वासमा कालिगढहरू उहाँको पूजा–आराधना गर्छन् ।
पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठुला वास्तुविद् भएको उल्लेख छ । द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ ।
– जनार्जन खत्री