काठमाण्डौ, भदौ २२ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर ऐतिहासिक काम भएको बताउनुभयो । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उहाँले बताउनुभयो ।
गएकाे भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गाैला प्रत्यारोपण सम्पन्न गरी उहाँलाई हिजो ‘डिस्चार्ज’ गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो । डाक्टरका अनुसार सामान्यतया मिर्गाैला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गाैलाले काम गर्ने गर्छ तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गाैला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुने डा.श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण विश्वमै थोरै व्यक्तिमा मात्रै हुने गरेको छ । चौधरीको पहिलो मिर्गाैला प्रत्यारोपण भारतको लखनउमा गरिएको थियो भने २०७२ सालमा दोस्रो र अहिले तेस्रो प्रत्यारोपण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो ।
नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै शुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार पाँच सय दुई जनाको सफल मिर्गाैला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ ।