09/05/2025, 01:52:45
बिहिबार, भदौ १९, २०८२

अयोग्य दशरथ रङ्गशालामा फिफा विन्डोको मैत्रीपूर्ण खेल


काठमाडौँ, भदौ १९ : दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजनाका लागि अयोग्य घोषणा गरिएको दुई वर्षभन्दा बढी भईसकेको छ ।

हालै एसियाली फुटबल महासङ्घ (एएफसी) का प्राविधिक प्रतिनिधिको प्रतिवेदनको आधारमा एएफसीले दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय अ‍ेल खेलाउन अझै अयोग्य रहेको ठहर गरेको थियो । तर अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भने एएफसीले अयोग्य घोषणा गरेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबिच दुई वटा मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्दैछ ।

भदौ २१ र २४ गते हुने मैत्रीपूर्ण खेलमा लागि बङ्गलादेशको राष्ट्रिय टोली बुधबार राति काठमाडौँ आईसकेको छ । यस खेल विश्व फुटबल महासङ्घ (फिफा) विन्डो अन्तर्गत आयोजना हुन लागेको हो । फिफा विन्डो अन्तर्गत हुने मैत्रीपूर्ण खेल एएफसीले अयोग्य घोषणा गरेको रङ्गशालामा आयोजना गरिनु रहस्यमय बनेको छ । दशरथ रङ्गशाला खेलका लागि अयोग्य भएकोले फिफा विश्वकप छनोट र एएफसी एसियन कप छनोट–२०२७ अन्तर्गत नेपालले मलेसिया र भियतनामसँग घरेलु मैदानमा खेल्नुपर्ने खेल फेरि दशरथ रङ्गशालामा नहुने पक्का भईसकेको छ ।

भियतनाम र मलेसियाविरुद्धको ‘होम गेम’ खेलाउनका लागि एएफसीले दशरथ रङ्गशालालाई अझै मान्यता नदिँदा नेपालको खेल पुन: अन्य देश (न्युटल भेन्यु) मा सर्ने पक्का भएको हो । यसअघि नेपालले आगामी अक्टोबर १४ मा भियतनाम तथा नोभेम्बर १८ तारिख मलेसियासँग छनोट खेल दशरथ रङ्गशाला खेल्ने तालिका थियो । तर यही रङ्गशालामा फिफा विन्डोको नेपाल र बङ्गलादेशबिचको खेल सञ्चालन गर्न लागिनुले आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नियतमा प्रश्न उठेको छ ।

खेलअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा भएकोले राम्रो वातावरणमा नेपाल र बङ्गशादेशबिचको खेल हुने बताउनुभयो । यस्तै एन्फा प्रतियोगिता विभाग प्रमुख सन्जीव मिश्रले एएफसीले तोकेको मापदण्ड पूरा नहुँदा कतिपय खेल सञ्चालन हुन नसकेको बताउनुभयो । मिश्रले एएफसीले अयोग्य घोषणा गरेपनि यसअघि साफ च्याम्पियनसिपका खेलहरु दशरथ रङ्गशालामा भईरहेको पनि बताउनुभयो ।

एएफसीले यसअघि नै दशरथ रङ्गशालाको फ्लड लाइट, मैदान, पानीको निकास, खेलाडी, टिम अफिसियल, खेल पदाधिकारी, भिआइपी, भिभिआइपी, मिडियाजोन जस्ता संरचना उचित नभएको ठहर गरेको थियो । यस्तै एएफसीले दशरथ रङ्गशालामा समर्थक प्रवेश गर्ने र निस्कने गेट एउटै भएकोले सुरक्षामा खतरा रहेको औँल्याउँदै रङ्गशालाको प्यारापिटका सिट बस्नका लागि उचित नभएको जानकारी पनि एन्फालाई गराएको थियो ।

पछिल्लो पटक नेपालले फिफा विश्वकप छनोट–२०२६ अन्तर्गत यमनसँग २०८० मङ्सिरमा दशरथ रङ्गशालामा खेलेको थियो । त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय खेलहरू दशरथ रङ्गशालामा हुन सकेको छैन ।

नेपाल र बङ्गलादेशबिचको खेलबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता शाहले दुई मैत्रीपूर्ण खेलबाट समग्र नतिजाका आधारमा विजेता घोषणा गरिने पनि जानकारी दिनुभयो । दुई खेलपछि समग्र विजेतालाई उपाधिसहित पुरस्कृत गरिनेछ । दुवै खेलमा स्पस्ट नतिजा नआए टाइब्रेकर (पेनाल्टी सुटआउट) बाट विजेताको टुङ्गो लगाइनेछ ।

मैत्रीपूर्ण खेलमा दर्शकका लागि भिआइपी प्यारापिटको टिकट शुल्क एक हजार तथा साधारण प्यारापिटको पाँच सय रुपियाँ कायम गरिएको बताइएको छ । नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल आयोजनाको वजेट एक करोड २७ लाख रुपियाँ रहेको पनि एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेल साँझ ५:३० बजे सुरु हुनेछ ।