08/25/2025, 11:46:10

इम्बोस्ड नम्बर जडानको निर्णय फिर्ता गर्न सरकारसँग अनुरोध


बबई (बर्दिया), भदौ ९ : सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने निर्णय गरेसँगै बर्दियाका युवाहरूले सरकारसँग उक्त निर्णय फिर्ता लिन माग गरेका छन् ।

इम्बोस्ड नम्बरका कारण नेपाली कला संस्कृति र नेपाली देव नागरिक अक्षरहरू विस्थापित हुन थालेको, नागरिकमा अनावश्यक भार थपेको र इम्बोस्ड नम्बर प्लेट जडान गर्न नागरिकलाई बाध्य बनाइएको भन्दै युवाहरूले विरोध जनाएका हुन् ।

राजापुर नगरपालिका धोविनपुरका देवराज ढुङ्गानाले सरकारले हतारमा गरेको निर्णय फिर्ता लिनका लागि अनुरोध स्वरूप विरोध गरिएको बताउनुभयो । तत्कालका लागि नेपाललाई इम्बोस्ड आवश्यक नरहेको युवाहरूको भनाइ छ । गुलरिया नगरपालिका–४ तुलापुरका लक्ष्मण भण्डारीले तीन वर्षसम्म नवीकरण गरिएको लाइसेन्स नपाउने देशमा इम्बोस्डको अर्थ नरहेको बताउनुभयो ।