२१ साउन, काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आफू जिम्मेवारीमा आएको मन्त्रालयको प्रमुख चुनौतीपूर्ण जिम्मेवारीको काम पारदर्शीता कायम गर्नु रहेको र त्यसलाई कामय गर्नेगरी काम गर्ने बताउनुभएको छ ।
आज प्रेस चौतारी नेपाल निकट पत्रकारहरुसँग मन्त्रालयमा छलफल गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । अहिलेसम्म आफूले मन्त्रालयमा विभिन्न शाखा र विभागको व्रिफिङ लिनेक्रममा रहेको बताउनुहुँदै उहाँले सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभयो ।
कर्मचारीमा बढुवा र सरुवाको सबैभन्दा बढी चासो रहनेगरेको आफूले जानकारी पाएको भए पनि त्यसमा नियमानुसार काम गर्ने र बढीभन्दा बढी जनताको सेवामा कर्मचारीलाई केन्द्रित गर्ने काममा ध्यान दिने उहाँको भनाइ छ । प्रशासनिक क्षेत्रको सुधार गर्न सके बाँकी काममा पनि सुधार हुने भन्दै उहाँले चुनौतीसँग जुधेर आफूले काम गर्न तयार रहेको बताउनुभयो ।
‘म कुनै लोभ लालचमा परेर कानुनविपरित कुनै काम गर्नेछैन, देश र जनताको पक्षमा अनवरत काम गर्नेछु, जति दिन पदमा रहन्छु जनताको पक्षमा काम गर्नेछु’ उहाँले भन्नुभयो । संघीय निजामती ऐन जारी गर्ने जिम्मेवारी पनि आफ्नो रहेकाले त्यसमा पनि काम गर्ने उहाँको भनाइ छ ।

पत्रकारहरुसँग समन्वय गरी उहाँहरुको सुझाव र सल्लाह लिएर मन्त्रालय मातहतका कामलाई बढीभन्दा बढी पारदर्शी बनाउने काममा आफ्नो ध्यान रहने उहाँले बताउनुभयो । नेतालाई नभनी काम नहुनेखालको भाष्यको अन्त्य गर्नेगरी काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेय, पूर्व अध्यक्ष गणेश बस्नेत, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले स्थायी सरकार कर्मचारी प्रशासन भएको र त्यसको तालुक मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भएकाले सुशासन कायम हुनेगरी काम गर्न सुझाव दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










