११ साउन, खोटाङ : ‘बाच्छा चर्छ बाच्छैका लागि, गाई चर्छ गाईकै लागि’ भनेजस्तै परिवारमा सबैले आ–आफ्नो पेट भर्नुपर्छ । छोराहरूले कमाएको उनीहरूकै लागि हुन्छ । आफ्ना लागि म आफैंले दुःख गर्छु ।
काठबाट ठेकी, हर्पे, कठुवा, तोङ्बा, दुनेरी, आरी, कुरुवा, टेक्से लगायत सामान बनाउँछु । यसैबाट घरखर्च, माइलो र कान्छा छोरालाई पढाउन पुर्याएको छु । राम्रो पढे भने दुवै छोरालाई सकुन्जेल पढाउँछु । त्यसपछि उनीहरूको पनि पखेटा लाग्ला । पखेटा लागेपछि केही गरिखालान् कि भन्ने आश छ ।
अहिले ६६ वर्षमा लागेँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा जन्मिएको हुँ । मेरा दुई गुँड (श्रीमती)बाट ३–३ छोरा र २–२ छोरी गरी दश छोरा–छोरी छन् । कान्छीपट्टिका दुइटा छोराबाहेक अरु सबैको पखेटा लागिसकेको छ । जेठीपट्टिका तीन र कान्छीपट्टिको एक छोरा अहिले विदेशमा छन् । जेठीपट्टिका पाँचै जना र कान्छीपट्टिको एक छोरा र दुई छोरीको बिहे भइसकेको छ । कान्छीपट्टिका माइलो छोरा सुप्रिमलाई २०८१ सालको एसईईमा एउटा विषय लाग्यो । कान्छो छोरा युनिक गाउँकै जालपा माविमा कक्षा ५ मा पढ्छ । घरमा दुइटी श्रीमतीले काम गर्छन् । म भाँडी (काठको भाँडा बनाउने ठाउँ)मा जान्छु । दिनको डेढ/दुई सय कमाउँछु । औषधि किन्न ठिक्क हुन्छ ।
मैले भाँडीमा बस्न थालेको ५० वर्ष नाघ्यो । बल वैंश छउन्जेल खोला–खोलामा गएर पानीबाट चल्ने भाँडी चलाएँ । अहिले उमेर ढल्यो, खोलामा भाँडी चलाउन सक्दिनँ । पानीबाट चल्ने भाँडी बनाउन ठूल्ठूला ढुङ्गा पल्टाउनु पर्छ । काठको डुँड खोपेर पानी चलाउनुपर्छ । अब त्यसो गर्न सक्दिनँ । घरमा थन्किने बेलामा वडाध्यक्ष भगेश्वर राईले बिजुलीबाट चल्ने भाँडी जोहो गरिदिनु भयो । वडा कार्यालय नजिकै भाँडीका लागि डेरा पनि बनाई दिनु भयो । बिजुलीको पैसा पनि वडाले नै तिरिदिन्छ । त्यही भएर यहाँ आएर भाँडी चलाउँछु ।
भाँडी चलाउने व्यवसायलाई चँदारा भनिन्छ । चँदारा पेसा लोप हुने अवस्था देखेपछि यसको संरक्षण गर्न वडाध्यक्षज्यूले सबै सुविधा दिएर ठूलो गुण लगाउनु भयो । मेरा लागि उहाँ भगवानसरह हुनु हुन्छ । यसैबाट एक–दुई सय कमाउँछु । यहीबाट ओखतीमूलो गर्ने पैसा जोहो हुन्छ । मुटु, पायल्स, बाथको औषधि खानु पर्छ । औषधि खाइनँ भने मारिजान्छु भन्ने डर लाग्छ । पहिले पनि ठूलो बिरामी हुँदा गाउँकै भीमराज राईले काठमाडौं लगेर उपचार गरिदिनु भएपछि सन्चो भएँ । अहिले पनि कहिले के, कहिले के बिरामी परिरहन्छु । औषधि नखाई त सक्दै सक्दिनँ ।
सकुन्जेल यही भाँडीमा काम गर्छु । अब कति नै पो सक्छु होला र ! सकिन्जेल भाँडी चलाउँछु । नसकेपछि यो पेसा नै सकिन्छ भन्ने मलाई पीर लाग्छ । बाउ–बाजेको पालादेखि चँदारा चलिआएको हो । बाजे शुभचन, बाबु मनवीरपछि मैले यो पेसा अपनाएको हुँ । जेठीपट्टिको कान्छो छोरा तिलकले यो सीप सिकेको थियो तर गाउँमा अडिन सकेन, बहराइन उड्यो । ऊमात्र होइन, दुई–चार पैसा आउने मेलो नभएपछि सबै केटा गाउँमा अडिँदैनन् । कान्छीपट्टिका दुई छोरा पनि गाउँमा बस्दैनन् होला । अनि त घरै रित्तै हुने भयो । पुस्तौंदेखि अपनाउँदै आएको चँदारा पेसा पनि यसै गरी सकिने त होला ।
पहिले यही पेसाबाट नाम चलाएको थिएँ । सबैले माया गर्थे । कमाइ पनि मनग्गे नै हुन्थ्यो । अहिले काम गर्न सक्दिनँ । तैपनि, बिस्तारै काम गरिरहेको छु । अहिले विभिन्न खालका काठका सामान बनाउँछु । सके त राम्रै पैसा हुन्थ्यो, सक्दिनँ । तर पनि धेरै समय लगाएर भए पनि जसोतसो काम गर्दै छु ।
राम्रो काठबाट बनाएको पाँच पाथी जाने ठेकीको १२ हजार, दुई माना जाने हर्पेको एक हजार, टुक्सेको एक हजार, दुई माना जाने कठुवाको १२ सय, तोङ्बाको १८ सय, ६ कुरुवा जाने दुनेरीको तीन हजार मूल्यमा बिक्री हुन्छ । यी सामान दिक्तेल बजार, काठमाडौं, विराटनगर, धरान, हङकङसम्म पुग्छन् । तर के गर्नु र भनेजति बनाउन सक्दिनँ । छोराहरूको चेत पलायो भने बाउ–बाजेको पुर्ख्यौली पेसा जोगाऊलान्, होइन भने अब यो पेसा यत्तिमै सकिने भयो ।
– डम्बरसिं राई