विराटनगर, कात्तिक २० : झापाको बिर्तामोडमा जेन–जी आन्दोलनका क्रममा लुटिएको एक थान हतियार झाडीभित्र फेला परेको छ ।
बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीबारी नजिकको सिमल तरुलको झाडीमा बुधबार साँझ पौने ५ बजेतिर हतियार फेला परेको हो । ०३११००८७२ नम्वरको एक थान इन्सास राइफल, त्यसको म्याग्जिन एक थान, नचलाएको १९ राउण्ड गोली र चलाएको २ राउण्ड गोलीको खोका समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हतियार गत भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको थियो । फेला परेको हतियार प्रहरीले बरामद गरी इप्रका अनारमनिमा राखेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।









