धरान (सुनसरी), कात्तिक २२ : इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बन्नुभएको छ । पुख्र्यौली सीपलाई नै व्यवसायिक रूपमा अङ्गाल्दै आउनु भएकाउहाँले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आउनुभएको बताउनुभयो ।
उहाँका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृहव्यवहारका सबै आवश्यकता यही पेशाबाट पूरा हुने गरेको सुनाउनुहुन्छ । यो हाम्रो पुख्र्यौली पेशा हो । समय दिएर बनाउदा आम्दानी राम्रै हुन्छ, उहाँले भन्नुभयो, राईका अनुसार वर्षेनि करिब रु सात लाखदेखि आठ लाख रुपैयाँ बराबरको नाङ्लो बिक्री हुने गरेको सुनाउनुभयो ।
नाङ्लो बनाउनका लागि आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गर्नुहुन्छ । एक वटा बाँस रु २०० देखि ३०० रुपैयाँसम्म पर्ने गरेको उहाँले बताउनुभयो । एक वटा बाँसबाट १० देखि १२ वटा नाङ्लो बनाउन सकिने उहाँको भनाइ छ । उहाँले एक हप्तामा करिब १५० भन्दा बढी नाङ्लो बनाउने गरेको जानकारी दिनुभयो । हप्तामा बनाएको नाङ्लो धेरै जसो व्यापारीहरू हप्तैपिच्छे घरमा आएर लैजानुहुन्छ ।
नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर, पथरीलगायत क्षेत्रमा बिक्री हुने गरेको छ । एक वटा नाङ्लो रु १३० देखि रु २५० सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । नाङ्लो बनाउन सकियो भने बजारको अभाव हुँदैन । पहिले हामी भोजपुरबाट ल्याएर बेच्थ्यौँ, अहिले यहाँ बनाएको नाङ्लो नै भोजपुरका व्यापारीले आएर लैजानुहुन्छ । दसैँ, तिहार, छठलगायत प्रमुख चाडपर्व तथा पूजाआजामा नाङ्लोको प्रयोग बढी हुने हुँदा भदौ, असोज र कात्तिक महिनामा यसको बिक्री सामान्य दिनभन्दा बढी हुने गरेको उहाँको अनुभव छ ।

सुनौलो बस्तीमा राईसहित करिब १५ घरधुरीभन्दा बढीले व्यावसायिक रूपमा नाङ्लो बुनेर जीविका चलाइरहनु भएको छ । यसले परिवारलाई घरमै बसेर काम गर्ने अवसर प्रदान गर्नुका साथै परम्परागत पेसा जोगाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
बाहिर अर्काकोमा मजदुरी गरेर कमाइभन्दा घरमै बसेर पुख्र्यौली सीप जोगाउँदै कमाउनु फाइदाजनक छ । मेहनत भए पनि आम्दानी स्थिर हुने भएकाले पेशाप्रति सन्तुष्टि रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नाङ्लो बुनेरै सानो घर निर्माण गर्न गरेको छु,छोराछोरीको पढाइसमेत यसै आम्दानीले पुगेको छ ।
ग्राहकको मागअनुसार विभिन्न साइज र प्रकारका नाङ्लो उत्पादन गर्न सकिने राईले जानकारी दिनुभयो । बजारमा नाङ्लोको वृद्धि भए पनि मूल्य वृद्धि हुन नसकेको कारण मूल्य बढाउन आवश्यक रहेको उहाँको सुझाव छ । यो पेसालाई थप व्यवसायिक बनाउन स्थानीय सरकारले सहयोग र ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












