07/25/2025, 19:00:23

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली


काठमाडौँ, ८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ ।

आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उहाँले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।