भक्तपुर, ३ साउनः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा आफ्नो जेल जीवनमा लिखित चिठीहरूको सङ्गालोको अङ्ग्रेजी संस्करण ‘लेटर फ्रम जेल’माथि वरिष्ट साहित्यकार, लेखक एवं राजनीतिज्ञहरूले तत्कालीन राजनीतिक परिदृश्यको बारेमा समीक्षा गर्नुभएको छ ।
पञ्चायतकालमा २०४५ सालदेखि १८ महिना जेल पर्नुभएका बिजुक्छेँले पत्नी शोभालाई लेख्नुभएको दुई दर्जन चिठीको सङ्गालो ‘जेलका चिट्ठीहरू’ पुस्तक १० वर्ष अघि प्रकाशित भएको थियो । सोही पुस्तकलाई अङ्ग्रेजी संस्करणमा ‘लेटर फ्रम जेल’ प्रकाशित गरिएको छ ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले साहित्य समाजको ऐना भएको बताउँदै देश र जनताको हितका लागि प्रगतिशील साहित्य लेखनलाई पछिल्लो पुस्ताले अङ्गाल्नुपर्ने बताउनुभयो । उहाँले देश र समाजका लागि काम गर्ने मानिसलाई दुःख दिने प्रयास धेरै ठाउँबाट हुने भएकाले त्यसबाट आत्तिन नहुने बताउँदै २०४५ सालमा भक्तपुर काण्डपछि पञ्चायती व्यवस्थाका शासकले पक्राउ गरेर यातना दिएको स्मरण गर्नुभयो ।
तत्कालीन व्यवस्थाले दिएका यातनालाई स्मरण गर्दै बिजुक्छेँले भन्नुभयो, “म लगायत दर्जनौँ कार्यकर्तालाई तत्कालीन शासकले जेलमा हाले । धेरै साथी भाग्नु पर्दा भक्तपुरका घरघरमा केटाकेटी र बुढाबुढीबाहेक कोही बस्न सक्ने अवस्था थिएन । मैले जेल जीवन बिताइरहदा मेरो घरको हालचाल बुझ्न दुई जना गएका थिए, उनीहरूले पनि प्रशासनबाट सास्ती व्यहोर्नु प¥यो ।”
जेलमा बस्दा आफ्नो घरपरिवार, पार्टी र समाजसँग जोडेर श्रीमतिका नाममा लेखेको चिट्ठीहरूले देश र समाजको हितमा लाग्ने युवापुस्तालाई प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बिजुक्छेँ २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा रिहा हुनुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, योगेन्द्रमान बिजुक्छेँ, बिजुक्छेँका जेठा छोरा डा सुवेगमान बिजुक्छेँले ‘जेलका चिट्ठीहरू’ अध्यक्ष बिजुक्छेँले जेलमा रहँदा पनि जनता, पार्टी, कार्यकर्ता र परिवारप्रति देखाएको प्रेम, समर्पण र मार्गनिर्देशनलाई यथार्थापरक ढङ्गले पस्किएको चर्चा गर्नुभयो ।
वरिष्ठ कवि नरेन्द्र प्रसाइँ, वरिष्ठ कवियत्री इन्दिरा प्रसाइँ, समीक्षक अभय श्रेष्ठ, वरिष्ठ चिकित्सक डा अशोकानन्द मिश्र, ख्वप अस्पतालका निमित्त निर्देशक डा मनोजप्रताप मल्ल, सहप्राध्यापक शशी कसपाल, सहप्राध्यापक नवराज बुढाथाकीलगायतले बिजुक्छेँको पुस्तकमा जेलभित्र गरेको सङ्घर्षसँगै जीवन, समाज, भक्तपुरको कला संस्कृति, राजनीति, दर्शनलगायत सन्दर्भको चर्चा गरिएको बताउनुभयो ।
अनुवादक अनुराज जोशीले नेपालीमा प्रकाशित भएको उक्त पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको थियो । श्रीमती शोभाको निधन भएको तीन वर्षपछि बिजुक्छेँले अङ्ग्रेजी संस्करणमा पुस्तक सार्वजनिक गर्नुभएको छ । पुस्तकलाई अन्तरराष्ट्रिय क्षेत्रमा पु¥याउने लक्ष्य रहेको प्रकाशकले जनाएको छ ।