09/10/2025, 12:14:36
बुधबार, भदौ २५, २०८२

समस्याको जालोमा चाँगुनारायण मन्दिर


चाँगुनारायण (भक्तपुर), भदौ २५ : विश्व सम्पदा सूचीमा रहेका चाँगुनारायण मन्दिर व्यवस्थापन नहुँदा अस्तव्यस्त बनेको छ । नेपालकै सबभन्दा पुरानो धरोहरका रूपमा परिचित १८ सय वर्ष अगाडि निर्माण भएको चाँगुनारायण मन्दिर सञ्चालन एवं व्यवस्थापन पुजारी, स्थानीयवासी र स्थानीय सरकारबिच चाँगुनारायण एकीकृत विकास कोषका रूपमा जान नसक्दा मन्दिरको अस्तित्वमाथि नै सङ्कट पर्न थालेको छ ।

चाँगुनारायण मन्दिरका नाममा रहेका विभिन्न समिति र पुजारीहरूमै आरोप प्रत्यारोप छ भने जात्रा, पर्व चलाउन गुठीदेखि सरकारले समेत चासो नदिएको भन्दै समस्या मन्दिर संरक्षणमा चासो घट्दै गइरहेको छ । पुरातत्व विभागले यसको विकासमा प्रभावकारी कार्य गर्न नसकेको र गुठी संस्थानले आफ्नो नाममा रहेको सम्पत्ति संरक्षणमा चासो नदिएको, पुजारीहरूले भेटी व्यवस्थापन नगरेको, चाँगुनारायणको मूल मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर महादेव मन्दिरमा रहेका पुजारीबिच नै सङ्घर्ष रहेको, भेटी पुजारी आफैँले राख्ने गरेको, सत्तलमा समेत ताल्चा लगाएको, विदेशीलाई सत्तल भाडामा दिएको, सम्पत्तिको संरक्षण नभएको, मूलढोका र मन्दिर परिसरमै पसल सञ्चालन गरेको, मन्दिर क्षेत्रमै फोहोर थुपारिदिने गरेकोलगायत अनगन्ती गुनासा र समस्याहरू जेलिएका छन् । यहाँका जात्रा पर्वमा अत्यावश्यक बाजालगायतका परम्परा लोप हुने अवस्थामा पुगिसकेको छ ।

मन्दिर स्थापना र ऐतिहासिक पक्ष

ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्व बोकेको प्राचीन सभ्यताको अद्भुत नमुनाको रूपमा रहेको काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं सम्पदाका रूपमा चाँगुनारायण मन्दिरलाई चिनिन्छ । गोपाल वंशावली अनुसार तेस्रो शताब्दीमा इसापूर्व ३२३ मा लिच्छवीकालीन राजा हरिदत्त वर्माले यो मन्दिर स्थापना गरेको मानिँदै आएको छ ।

राजा मानदेवले आफ्नो पिताको मृत्युपछि दोष निवारण गर्न आफ्ना आमाको साथमा आएर चाँगुनारायणको पूजा गरेको र उहाँले ५२१ अर्थात् इसापूर्व ४६४ मा मन्दिर परिसरमा गरुडको मूर्ति स्थापना गरी शिलालेख राख्नुभएको उल्लेख छ । यो नेपालको सबभन्दा पुरानो ऐतिहासिक शिलालेखको रूपमा चिनिन्छ ।

मध्यकालमा राजा शिव सिंहकी रानी गङ्गारानी र १८ औँ शताब्दीको सुरुमा कान्तिपुरका राजा भास्कर मल्लले मर्मतसम्भार गरेको मानिन्छ । सन् १९७९ मा यस मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि मन्दिरले अन्तर्राष्ट्रिय पहिचान पाएको हो ।

वास्तुकलाको अनुपम नमुना मानिने यस मन्दिर दुई तह प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरमा काठ, इँटा, ढुङ्गा, धातुमा सुन्दर कलात्मकता पाइन्छ भने यहाँ कोरिएका मूर्तिहरू, ढोका तोरण, गङ्गा–यमुना देवी मूर्तिहरू र गरुड चढेको विष्णु प्रस्तर मूर्ति महìवपूर्ण कलात्मक पक्ष मानिन्छ । काठका स्तम्भ र तोरणमा विष्णुका त्रिविक्रम, नरसिंह, बराह आदि अवतार, काली, गरुड, सिंह आदिको कलात्मक मूर्तिकला रहेका छन् ।

चाँगुनारायण मन्दिर भगवान् विष्णुको स्वरूप भएकाले यहाँ परम्परागत रूपमा वैष्णव परम्परा अनुसार पूजा गरिँदै आएको छ । माघ शुक्ल पूर्णिमा, हरिबोधिनी एकादशी, नागपञ्चमी, जनैपूर्णिमा यहाँ विशेष पूजा एवं मेला लाग्ने गर्दछ । यहाँ दैनिक बिहान–साँझ नित्य पूजा गरिँदै आएको छ ।

मन्दिरको संरक्षणमा चिन्ता

चाँगुनारायण मन्दिरको दीर्घकालीन संरक्षणका लागि पशुपति विकास कोषको ढाँचामा सञ्चालन गर्न चाँगुनारायण नगरपालिकाले नेपाल सरकारलाई अनरोध गरेको छ । नगरप्रमुख खत्री भन्नुहुन्छ, “चाँगुनारायण मन्दिरलाई पशुपति विकास कोषको ढाँचामा लैजान हतार भइसक्यो । यसका लागि नगर कार्यपालिका बैठकले निर्णय गरेर सरकारलाई पत्राचार गरिसकेको छ, संस्कृति तथा पर्यटन मन्त्रालयलाई पनि पत्र पठाएर अनुरोध भएको छ । चाँगुनारायण मन्दिरलाई नेपाल सरकारले कोषमा लगेर छिट्टै व्यवस्थापन गर्न अनुरोध गर्दछौँ ।

नगरप्रमुख खत्रीले पटक पटक समिति र पुजारीहरूसँग बसेर मन्दिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिकाले प्रयास गर्दा पनि छलफलमा सहभागी नै नहुँदा समस्या समाधानतर्फ नबढेको बताउनुहुन्छ । चाँगुनारायणबाट काठमाडौँको हनुमानढोका हुँदै उत्तरमा साँखुसम्म यहाँको जात्रा, पर्व परम्परा जाने, माघमा स्वस्थानीको व्रतमा यहाँ आउनै पर्ने जस्ता धेरै परम्पराहरू रहेकाले मन्दिर व्यवस्थापनमा सरकारले चासो दिनुपर्ने उहाँको भनाइ छ ।

विश्वमा चर्चामा रहेको यो मन्दिर विश्वभरका हिन्दु, बौद्ध र वैष्णव धर्मावलम्बीहरूको ठुलो आस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “यहाँका पुजारीहरू र स्थानीयको कुरा नै फरक छ, स्थानीयको अपनत्व जुटाउनै मुस्किल परेको छ । नगरपालिकाले पर्यटन शुल्कबाट उठाएको रकमभन्दा धेरै यहाँको विकासका लागि खर्च गरेका छौँ ।” उहाँले मन्दिरको विकास, लोप हुन लागेको जात्रा पर्वको संरक्षण गर्ने, त्यहाँको जग्गाको अवस्था, आयस्रोतको अवस्थालाई व्यवस्थित गर्ने र नगरपालिकाले बजेट थप गर्न आफू नगरप्रमुख भएदेखि नै लागिरहेको बताउनुभयो ।

चाँगुनारायण मन्दिर यहाँका बासिन्दाका लागि सुनको कचौरा भएकाले यसलाई पित्तल हुनबाट जोगाउन, नगरपालिका, वडा कार्यालय, समितिहरू, स्थानीय समुदाय एक भएर लाग्नुपर्ने उहाँको भनाइ छ । नगरप्रमुख खत्रीले भन्नुभयो, “मन्दिर क्षेत्रको सीमाङ्कन गर्ने, जग्गाको संरक्षण गर्ने, सबै व्यवस्थित गर्ने हो भने नगरपालिका मन्दिरका लागि २० करोड रुपियाँसम्म लगानी गर्न पनि तयार छ, तर स्थानीयले अपनत्व चाहिँ लिनु पर्छ, जथाभावी छाड्नु हुँदैन ।

चाँगुनारायण मन्दिरको विशेषतालाई विश्वभर प्रचार गर्न सके पर्यटकको ओइरो लाग्छ भन्दै उहाँले पशुपति मन्दिरमा आउने पर्यटकमध्ये दुई प्रतिशत वैष्णव धर्म मान्ने पर्यटकलाई मात्रै यस मन्दिरमा ल्याउन सके यहाँको आम्दानीले नै सबै खर्च धान्न सक्ने बताउन्नुभयो । चाँगुनारायण मन्दिरको प्रचार प्रसारकै लागि नगरकोट भ्रमण वर्ष– २०८२ को अवसर पारेर पहिलो पटक नगरपालिकाले आउँदो असोज ११ गते मनाइने विश्व पर्यटन दिवस मन्दिरमै भव्य रूपमा आयोजना गर्ने भएको छ । मन्दिरमा एकमहिने विष्णु पुराणको आयोजना गर्ने घोषणा गरेको छ ।

चाँगुनारायण नगरपालिका–४ का वडाध्यक्ष रोजबहादुर तामाङले चाँगुनारायणको संरक्षण र यहाँको सम्पत्तिको संरक्षणमा स्थानीय समुदाय, पुरातत्व विभाग र गुठी संस्थानले चासो दिन नसकेको औँल्याउनुभयो । वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्काले स्थानीयले जिम्मेवारी बहन नगर्दा त्यहाँ उब्जिएका समस्याको दोष नगरपालिकालाई देखाउने गरिएको बताउनुहुन्छ । चाँगुनारायणको दीर्घकालीन विकासका लागि चरणबद्ध रूपमा समुदायस्तरले नै छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।

– रमेश गिरी