सर्लाही, भदौ १२ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको राजनीतिक जीवन सफल भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस सर्लाहीले बिहीबार दिवङ्गत कोइरालाको स्मृतिमा लालबन्दी–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै कांग्रेस महामन्त्री थापाले कांग्रेसका नेता, कार्यकर्ताले कोइरालाको मागदर्शन अनुशरण गर्नुपर्ने बताउनुभयो ।
“उहाँ जत्तिको सफल सामाजिक व्यक्तित्व बन्न त सक्दैनौँ तर पनि हामीले उहाँजस्तै बन्ने कोसिस भने गर्नुपर्छ” कांग्रेस महामन्त्री थापाले भन्नुभयो, “आगामी दिनमा हामीले उहाँको मार्गदर्शनलाई अबलम्बन गर्न सक्यौँ भने सच्चा श्रद्धाञ्जली अर्पण हुनसक्छ ।”
श्रद्धाञ्जली सभामा दिवङ्गत कोइरालाको जीवनीबारे मात्र चर्चा गर्नुभएका कांग्रेस महामन्त्री थापाले कोइरालाको योगदान सँदैव अमर रहिरहने उल्लेख गर्नुभयो । कोइरालाले जीवनभर लाभको कुनै पद नलिएको भन्दा पनि उहाँले समाजमा गर्नुभएको योगदानको विषयलाई बाहिर ल्याएर लिपिबद्ध गरेर राख्नुपर्नेमा महामन्त्री थापाको भनाइ छ ।
उहाँले नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्य समितिकै तर्फबाट स्मारिका प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति एवं किसान महासङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका कोइरालाकै जोडबलमा जुटपानीमा आश्रम, विद्यालय, स्वास्थ्य चौकीलगायत सामाजिक सङ्घ संस्था स्थापना भएको थाहा पाउँदा थापाले खुसी व्यक्त गर्नुभयो ।
कोइराला दिवङ्गत हुनु भए पनि उहाँले स्थापना गर्नुभएको जुटपानी आश्रम, विद्यालय लगायतले उहाँको योगदान अमर रहिरहने कांग्रेस महामन्त्री थापाको भनाइ छ । श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले वासुदेवशरण कोइरालाबाटै समाजसेवा र राजनीतिमा प्रेरित भएको बताउनुभयो ।
सभामा कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, कार्यवाहक जिल्ला सभापति डा. सरोजकुमार यादव, पूर्व जिल्ला सभापति नागेन्द्रकुमार यादव, मधेश प्रदेशसभा सदस्य जङ्गीलाल राय, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी लगायतले सम्बाेधन गर्दै कुशल र निष्ठावान नेता गुमाउनुपरेको भन्दै दुःख व्यक्त गर्नुभयो । जुटपानी आश्रमका संरक्षकसमेत रहनुभएका कोइरालाको भदौ ३ गते ९३ वर्षको उमेरमा निधन भएको थियो ।
कोइरालाले आफू जीवित रहँदै मृत्युपश्चात आफ्नो शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई अनुसन्धानका लागि प्रदान गरेर अनुकरणीय काम गरेको भन्दै महामन्त्री थापासहित अन्य वक्ताहरूले प्रशंसा गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















