09/10/2025, 12:21:13
बुधबार, भदौ २५, २०८२

तीन खर्ब ३३ अर्ब भित्रियो वैदेशिक लगानी


काठमाडौँ, भदौ २५ : मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) १२.७ प्रतिशतले बढेर तीन खर्ब ३३ अर्ब रुपियाँ भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदनले सन् २०२४/२५ मा विभिन्न ६० देशबाट सो वैदेशिक लगानी भित्रिएको हो । यसमा चुक्ता पुँजी ५०.७, रिजर्भ ३६.७ र ऋण १२.६ प्रतिशत रहेको छ । नेपालमा हालसम्म आएका वैदेशिक लगानीमध्ये सबैभन्दा धेरै भारतबाट आएको तथ्याङ्कले देखाएको छ ।

प्रतिवेदन अनुसार कुल वैदेशिक लगानीको ३२.३ प्रतिशत हिस्सा ओगट्ने भारतबाट मात्रै सबैभन्दा धेरै एक खर्ब ७६ अर्ब रुपियाँको वैदेशिक लगानी भित्रिएको छ । यस्तै चीनबाट १०.२ प्रतिशत अर्थात् ३४ अर्ब रुपियाँ, सिङ्गापुरबाट ८.३ प्रतिशत अर्थात् २७ अर्ब रुपियाँ, आयरल्यान्डबाट ६.९ प्रतिशत अर्थात् २३ अर्ब रुपियाँ र दक्षिण कोरियाबाट ६.१ प्रतिशत अर्थात् २० अर्ब रुपियाँ विदेशी लगानी नेपाल भित्रिएको छ ।

प्रतिवेदन अनुसार नेपालमा धेरै लगानी विद्युत्, उत्पादन, वित्तीय सेवा र सूचना सञ्चार क्षेत्रमा भित्रिएको छ । प्रतिवेदन अनुसार वैदेशिक लगानीको क्षेत्रगत विवरण हेर्दा, औद्योगिक क्षेत्रले ५९.४ प्रतिशत हिस्सा ओगटेको छ । यो क्षेत्रमा जसमा विद्युत्, ग्यास, वाफ र एयर कन्डिसनिङ क्षेत्र २९.५ प्रतिशत र उत्पादन क्षेत्रमा २९.३ प्रतिशत छ ।

सेवा क्षेत्रले ४०.५ प्रतिशत हिस्सा लिएको छ, जसमा वित्तीय र बिमा सेवा २४.४ प्रतिशत, सूचना र सञ्चार ८.१ प्रतिशत र आवास तथा खाद्य सेवा ६.५ प्रतिशत छ । यी क्षेत्रमा शीर्ष देशहरूको लगानी केन्द्रित छ । उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा २९.३ प्रतिशत लगानी भएको छ । यी दुवै मिलेर औद्योगिक क्षेत्रको हिस्सा ५९.४ प्रतिशत पुगेको छ ।

२०२४ जुलाईसम्म प्रत्यक्ष लगानीकर्ताबाट प्रत्यक्ष ऋणबाहेक नेपालका एफडिआई कम्पनीले ५९.९ अर्ब रुपियाँ बराबरको वैदेशिक ऋण लिएका छन् । यसमध्ये जलविद्युत् क्षेत्रमा मात्रै ३४.७ अर्ब रुपियाँ बराबरको ऋण रहेको छ । सर्वेक्षणमा समावेश उत्पादनमूलक कम्पनीले आफ्ना क्षमताको ४७.५ प्रतिशत मात्र प्रयोग गरेका छन् भने ती कम्पनीको नाफा दर २०२३/२४ मा १०.७ प्रतिशत रहेको छ ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ अर्ब लगानी प्रतिबद्धता आउँदा १२ अर्ब एक करोड रुपियाँ भित्रिएको थियो । यस्तै आव २०८०/८१ मा ६९ अर्ब ८३ करोड लगानी प्रतिबद्धता आउँदा आठ अर्ब ४७ करोड रुपियाँ लगानी भित्रिएको थियो । विभागको लगानी प्रविधि तथा हस्तान्तरण शाखा प्रमुख प्रशान्त बोहोराले नीतिगत सुधारले गर्दा गत आवमा वैदेशिक लगानी बढेको जानकारी दिनुभयो । वैदेशिक लगानी भित्र्याउन सरकारले गत आवमा अध्यादेशमार्फत कानुन संशोधन गरेको थियो । जसका कारणले गर्दा पनि लगानी बढी भित्रिएको हो ।

नेपालले सन् १९८०/८१ मा छैटौँ पञ्चवर्षीय योजना प्रारम्भसँगै वैदेशिक लगानीलाई प्राथमिकतामा ल्याएको हो । उद्योग विभागका अनुसार सुरुदेखि हालसम्म सात हजार ३३६ परियोजनामार्फत छ खर्ब ७५ अर्ब ५२ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालमा लगानी गर्ने भनेर गरेको प्रतिबद्धता अनुसार लगानी कम भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।