09/10/2025, 12:14:37
बुधबार, भदौ २५, २०८२

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चित

सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन लगायतमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि सर्वोच्चको सुनुवाइ अनिश्चित


काठमाडौँ, भदौ २५ : सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चित बनेको छ । जेन-जीको प्रदर्शनका क्रममा मङ्गलबारसमेत उपत्यकाका सबै अदालतको सुनुवाइ रोकिएको थियो । सर्वोच्च अदालत, नेपाल बार एसोसिएसन लगायतमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि सर्वोच्चको सुनुवाइ अनिश्चित बनेको हो ।

सर्वोच्चमा अहिले इजलास सञ्चालन भइरहेको र मिसिल रहेको मूल भवनमा आगजनी भएको छ । आगजनीले इजलास र मिसिलमा कति क्षति पुग्यो भन्ने यकिन भएको छैन । मिसिलमा क्षति पुगेमा सुनुवाइमा थप विलम्ब हुने छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले क्षति के कस्तो भएको छ, यकिन नभएकाले न्यायिक कार्य कहिलेबाट हुन्छ भन्न नसकिने बताउनुभयो । कोइरालाले भन्नुभयो, “आगजनी भइरहेको हामीले पनि देखेका मात्र छौँ । स्थिति नियन्त्रण नभएसम्म कहिले, कसरी इजलास सुरु हुन्छ भन्न सकिने अवस्था छैन ।

मङ्गलबार पनि सर्वोच्च प्रशासनले सूचना जारी गरेर सुनुवाइ स्थगित गरेको थियो । बन्दीप्रत्यक्षीकरण र पूरकबाट पेसी हुने जरुरीबाहेकका अन्य सुनुवाइ स्थगित भएका थिए । सर्वोच्चसहित मङ्गलबार उपत्यकाका सबै अदालतमा न्यायिक कार्य प्रभावित बनेको थियो । काठमाडौँ, ललितपुर र भक्तपुरसमेतमा कफ्र्यु आदेश जारी भएपछि अदालतहरूले मङ्गलबार नै सुनुवाइ स्थगित गरेका थिए । उच्च अदालत पाटनले सम्पूर्ण सुनुवाइ स्थगित गरेको थियो । काठमाडौँ जिल्ला अदालत र विशेष अदालतमा सोमबार पनि आंशिक प्रभाव परेको थियो ।

यस्तै आन्दोलनका कारण महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलन प्रभावित बनेको छ । उद्घाटनपछि मङ्गलबार समापन हुने भनिए पनि स्थगित भएको हो । महान्यायाधिवक्ता कार्यालयले आन्दोलनको परिस्थिति मूल्याङ्कन गरेर सम्बन्धित कार्यालयमा फर्किन सूचनासमेत जारी गरेको छ । सोमबार राष्ट्रिय सम्मेलन उद्घाटन भएको थियो ।