07/17/2025, 19:54:19

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

अहिले घुमफिर गर्ने चलन आयो, युवाहरू खुब रमाइलो गर्दै बुकी चड्छन् । स्टिलका लौरा समातेका, झोला बोकेका, फोटो खिच्दै हिँड्छन् । हामीलाई देखे भने पुराना पुराना कुरा सोध्छन्, जिज्ञासा राख्छन् । कोहीले हाम्रो फोटो खिच्छन् र सञ्चारमाध्यममा देखाउँछु भन्छन् । घुम्न आउनेहरूलाई रमाइलो नै हुन्छ होला, हामीलाई पनि रमाइलो लाग्छ ।


ढोरपाटन (बागलुङ), श्रावण १ : हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिकजसो पर्यटक पदयात्रा गर्दै पहाततर्फ उक्लिरहेका देखिन्छन् ।

अहिले बागलुङको ‘बुकीपाटन’ पनि पदयात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । पाँच वर्ष अगाडिसम्म गोठाला र वस्तुभाउ मात्रै बस्ने बुकीपाटनमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । गाउँबाट होस् वा सहरबाट युवाहरूको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहपलह देखिन थालेको स्थानीय बताउँछन् । सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बुकीपाटनको प्रचारप्रसार हुन थालेपछि हिजोआज पदयात्रा गर्ने पर्यटको सङ्ख्या बढेको ढोरपाटन नगरपालिका–९ का गुनबहादुर बुढामगरले बताउनुभयो ।

बुकीपाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमशृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न पाउने, गर्मीयाममा शीतलता हुने भएकाले युवाहरूमा पदयात्रा (ट्रेकिङ) मोह बढेको उहाँको भनाइ छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन गत वर्षदेखि बढी चर्चामा आएको हो । ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने बुकीपाटन तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पर्दछ ।

बुकीपाटन चढ्ने याम असारदेखि असोजसम्म मानिने बुढामगरले जानकारी दिनुभयो । यो याम बढी मनमोहक हुने भएकाले पदयात्रमा आउने पयटक बढेका बताउँदै उहाँले यसअघि ढोरपाटन आउने पर्यटक उपत्यकाबाटै फर्किने गरेकामा हिजोआज बुकीपाटनसम्म उक्लिने गरेका जानकारी दिनुभयो ।

आफूहरू बर्खामा वस्तुभाउ लिएर बुकीपाटन उक्लिने र हिउँदमा बेँसी झर्ने गरेको स्मरण गर्दै उहाँले पहिले बाहिरी मान्छे खास्सै नजाने गरेकामा पछिल्लो समय यो याममा दैनिक ५० जना युवा बुकीपाटनसम्म जाने गरेका उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले घुमफिर गर्ने चलन आयो, युवाहरू खुब रमाइलो गर्दै बुकी चड्छन् । स्टिलका लौरा समातेका, झोला बोकेका, फोटो खिच्दै हिँड्छन् । हामीलाई देखे भने पुराना पुराना कुरा सोध्छन्, जिज्ञासा राख्छन् । कोहीले हाम्रो फोटो खिच्छन् र सञ्चारमाध्यममा देखाउँछु भन्छन् । घुम्न आउनेहरूलाई रमाइलो नै हुन्छ होला, हामीलाई पनि रमाइलो लाग्छ ।

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकीपाटन चर्चामा आएको बताउनुभयो । पहिले गुमनाम रहेको बुकीपाटनमा अहिले दैनिकजसो पर्यटक ‘ट्रेकिङ’ जाने गरेका उहाँको भनाइ छ । पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत ठाउँबाट युवाहरू पदयात्रा गर्न आउने गरेका घर्तीले बताउनुभयो ।

बुकीपाटन मनमोहक र आकर्षित छ, यतिका समयसम्म ओझेलमा थियो, अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार हुँदा धेरै पर्यटकको आगमन भएको छ । पहिले उपत्यकाबाट फर्किने पर्यटकहरू अहिले बुकीपाटन उक्लिने गरेका छन्”, उहाँले भन्नुभयो, “ढोरपाटन आउने धेरैजसोले बुकीपाटन जाने तयारी गर्नुहुन्छ ।

चितवनका रेवनकुमार शाक्यले तराईमा गर्मी हुँदा शीतलताका लागि बुकीपाटन पदयात्रामा आएको बताउनुभयो । ढोरपाटनसम्म गाडीमा आएको सुनाउँदै त्यसभन्दा माथि पदयात्रा गरेको उहाँको भनाइ छ । बुकीपाटन जाँदा बाटोमा धेरै पदयात्रीहरू देखेको सुनाउँदै आफूहरू पनि पाँच जनाको टोली आएको शाक्यले जानकारी दिनुभयो । स्थानीय सरकारले बुकीपाटन पुग्ने पदमार्गलाई थप व्यवस्थित र आकर्षित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा विनियोजन गरेको रु २० लाखमा पदमार्गलगायत पूर्वाधार निर्माण छ ।

ढोरपाटन नगरपालिका–९ पाखाथरबाट गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । पदमार्गसँग विभिन्न ठाउँमा काठेपुल निर्माण गरिएको बताउँदै आगामी दिनमा अन्य संरचना थप्दै जाने योजना रहेको उहाँको भनाइ छ ।