मुक्तिनाथ (मुस्ताङ), कात्तिक २८ : उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तीर्थस्थल दामोकरकुण्डमा क्षेत्रमा हिउँले छपक्कै छोपेको छ। हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल दामोदर कुण्डमा हिमपातका कारण पैदलमार्गबाट दर्शन गर्न जान नसक्ने धार्मिक पर्यटकले जाडोयाम हेलिकप्टर चार्टर गरेर दर्शनका लागि जाने गर्दछन्।
दामोदरकुण्ड क्षेत्रमा हेलिकप्टरमा जाने पर्यटकले सुरक्षा समितिबाट अनिवार्य अनुमति लिनुपर्ने नियम छ। समुद्री सतहबाट चार हजार ८ सय ९० मिटर उचाइमा रहेको दामोदरकुण्ड मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान हाे।
कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको उद्गमस्थल समेत रहेकाले नेपाली र भारतीय हिन्दु धर्मावलम्बीको रोजाइमा पर्ने गरेको छ। उक्त क्षेत्रबाट हिमालै हिमाल मनाङ क्षेत्रसम्म जाने गरिन्छ। सहासिक गन्तव्यका लागि दामोदरकुण्ड क्षेत्रलाई आकर्षक गन्तव्य मानिन्छ। अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीयसहित तेस्रो देशका पर्यटकले १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिइने भएकाले दामोदरकुण्डमा जाने धेरै नेपाली हुन्छन्।
यस क्षेत्रबाट घरमा रहेको मन्दिरमा शालिग्राम शिला राख्दा पुण्य कमाइने भएकाले तीर्थालुले शीला र जल लिएर जान्छन्। दामोदरकुण्डमा ३ वटा जलाशय चक्रकुण्ड, दुधकुण्ड र तामाकुण्ड छन्। यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड। जहाँ चक्र कुण्ड र दूधकुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिब १ सय मिटर टाढा छ।





– हरिकृष्ण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















