11/14/2025, 11:47:29
शुक्रबार, कार्तिक २८, २०८२

हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण


काठमाडौँ, कात्तिक २८ : नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई ध्यानमा राखेर हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एसोसिएसन)लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार ती उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्डले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको हिमालय विश्वकै आकर्षण हो । यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ । उद्धार सङ्घसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौँ ।

त्यसैगरी, बोर्ड सदस्य नरेन्द्रदेव भट्टले उद्धार कार्य केवल आपतकालीन व्यवस्थापनमात्र नभएर नेपाल पर्यटनको विश्वसनीयता निर्माण गर्ने माध्यम पनि भएको उल्लेख गर्दै आगामी दिनमा उद्धार र जोखिम व्यवस्थापनमा अझ व्यवस्थित गर्ने बताउनुभयो ।

सामग्री ग्रहणपछि हिमालय उद्धार सङ्घका अध्यक्ष डम्बर पराजुलीले बोर्डको सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सगरमाथा, अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा काम गर्दा उद्धार सामग्री अत्यन्त आवश्यक हुन्छ । बोर्डको यो सहयोगले हाम्रो उद्धारकार्य अझ प्रभावकारी र शीघ्र हुने विश्वास लिएको छु ।

उक्त अवसरमा बोर्डले सङ्घलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स चार थान, डिसेन्डर्स पाँच थान, पुली चार थान, स्लिङ्स पाँच थान, आइसस्क्रु र पिकेट्स पाँच थान, बिले डिभाइस चार थान, एङ्कर्स चार थान र स्लीपिङब्याग पाँच थान हस्तान्तरण गरेको थियो ।  बोर्डले आगामी दिनमा हिमाली क्षेत्रमा उद्धार र सुरक्षा पूर्वाधारलाई अझ सुदृढ बनाउन निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्यका कार्यक्रम पनि विस्तार गरिने विश्वास व्यक्त गरेको छ ।