11/13/2025, 14:44:00
बिहिबार, कार्तिक २७, २०८२

बागलुङका पर्यटकीय क्षेत्रमा पूर्वाधार र पदमार्ग निर्माण


बागलुङ, कात्तिक २७ : ताराखोला गाउँपालिका वडा नं. २ मा सहिद स्मृति पार्क निर्माण भएको छ । उक्त पार्कका लागि पर्यटन कार्यालय बागलुङले १५ लाख लगानी गर्‍यो । यो पार्कले पर्यटकको आगमन बढाएको छ । सशष्त्र द्वन्द्वको इतिहास पनि यो पार्कले समेटेको वडा नं. २ अर्गलका अध्यक्ष भद्रबहादुर घर्तीले बताउनुहुन्छ ।

ताराखोलाकै वडा नं. १ स्थित गाईघाट झरनाको संरक्षणमा पर्यटन कार्यालयले २० लाख रुपियाँ खर्चेपछि पालिका र वडाको लगानीले आर्कषक पर्यटकीय गन्तव्य बनेपछि सयौं पर्यटक पुग्ने गरेका छन् । नियमित पर्यटक जान थालेपछि पालिकाले प्रतिव्यक्ति २० रुपियाँ शुल्क लिएर नियमित आम्दानीको श्रोत बनाएको छ ।

गलकोट नगरपालिका वडा नं. ५ को हरिचौरदेखि सिमलचौर र अन्तर्राष्ट्रिय मूर्तिकलासम्म पुग्ने पदमार्ग बनेपछि पर्यटकको आवतजावत बढेको छ । टेउवास्थित मूर्तिकलामा गाडी चढेर जाने भन्दा पैदल जाने बढि भएको स्थानीय झंकबहादुर बस्नेतले बताउनुभयो ।

‘‘धेरै मानिस पदयात्रा गरेर आउँछन्, कतिपयले त यहाँ आएपछि केही समय रमाउने गरेका छन्’’ बस्नेतले भन्नुभयो, ‘‘घुम्टे चढ्नेहरुलाई पनि यो विश्रामस्थल बनेको छ ।’’ तीन हजार एक सय मीटरको उचाइमा रहेको घुम्टेको लेक चढ्ने, त्यहाँ रहेका सिद्दबराहको दर्शन गर्नेहरु बढ्दै गएका छन् ।

गलकोटकै वडा नं. ३ स्थित कोतघर जाने पदमार्ग, बागलुङ नगरपालिका वडा नं. ८ को सिगानास्थित रानीभुमेसम्म पुग्ने पदमार्ग र ढोरपाटन नगरापलिका वडा नं. १ को भवरेटा जाने पदमार्गले ती स्थानमा दैनिक घुम्नेका लागि आर्कषक गन्तव्य बन्न थालेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा पर्यटन कार्यालय बागलुङले जिल्लाभर ३१ पदमार्ग निर्माण गरेको कार्यालयका शाखा अधिकृत नारायण रिजालले जानकारी दिनुभयो । स्थानीयको माग र आवस्यकताको आधारमा ती पदमार्ग बनेका हुन् ।

कार्यालयले गत वर्ष दुई करोड ९० लाख खर्चेर ३१ वटा पदमार्ग बनाएको हो । त्यस्तै, पाँच लाख खर्चेर पार्क, ९० लाख खर्चेर नौ वटा पूर्वाधारका योजना बनाएको हो । सदरमुकाम नजिकैको गौरीधाम शिव मन्दिरमा कार्यालयले पार्क बनाएको छ । पछिल्लो समय अधिकांस पदमार्गमा युवाहरुले हाइकीङ गर्न थालेका छन् ।

पर्यटन तथा उद्योग कार्यालयले १० लाखदेखि २० लाख रुपियाँ खर्चेर अघिल्लो वर्ष ५३ वटा पदमार्ग बनाएको थियो । ती पदमार्ग उपयोगी देखिएपछि गतवर्ष पनि ३१ वटा पदमार्ग बनाएको छ । आगामी दिनमा पदमार्गलाई व्यवस्थित बनाउने र अधिकतम उपयोगमा लैजाने लक्ष्य राखिएको शाखा अधिकृत रिजालको भनाई छ ।

– रामकृष्ण बोहरा