09/30/2025, 17:13:06
मङ्गलबार, असोज १४, २०८२

‘महिला अधिकारका लागि तीनै तहका सरकारले जोड दिनुपर्ने’


महेन्द्रनगर (धनुषा), ३० असारः मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले महिलाको हकअधिकार तथा सुरक्षाको विषयमा तीनै तहका सरकार गम्भीर हुन जरुरी रहेकोे बताउनुभएको छ ।

जनकपुरधाममा आज मधेश प्रदेशसभाका सदस्यहरुसँग प्रदेशसभाका समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी छलफल कार्यक्रममा सभामुख मण्डलले विगतको तुलनामा राजनीति प्रशासनिकलगायत क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउनुभयो । महिलाको सम्मान र इज्जत गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उहाँले महिला सशक्तिकरणमार्फत महिलालाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको छ भन्नुभयो ।

सभामुख मण्डलले महिला सङ्कीर्ण विचारबाट माथि उठेर उच्च आत्मविश्वास र हौसलापुर्ण तरिकाले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसांसद पुष्पा भुषालले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाको उत्थानमा राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । साथै उहाँले महिलाको हक अधिकारका लागि शिक्षा, स्वास्थ्य र रोजगारीमा तीनै तहको सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा विभिन्न दलका नेता, सांसद तथा नागरिक समाजका अगुवाहरुको सहभागिता थियो । ‘सशक्त महिला, समृद्ध नेपाल परियोजनाअन्तर्गत फोरम फर वीमेन, ल’ एन्ड डेभलपमेन्ट, महिला कानुन र विकास मञ्चको आयोजनामा कार्यक्रम भएको हो ।