07/06/2025, 23:33:16

मधेस प्रदेशसभा बैठक स्थगित


जनकपुर, २२ असारः मधेस प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालसहित ६ दलले सभा बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।

जसपा नेपालका रामअशीष यादवले सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमा बिचौलिया हाबी भएको दाबी गर्नुभयो । उहाँले मुख्यमन्त्री सिंहको बुवाले २० वर्षअघि बनाएको भवनको भुक्तानी गर्ने गरी बजेट ल्याइएको, डिपीआरमा करोडौँ रकम विनियोजन गरिएको भन्दै असहमति जनाउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक कनिस पटेलले बजेट असमान रहेको बताउनुभयो । उहाँले सदनमा रहेका विपक्षी दल मात्र नभई सत्तापक्ष र सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका अध्यक्षसमेतले बजेटको विरोध जनाइसकेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का उपनेता युवराज भट्टराईले बजेट पुनःलेखनको माग गर्नुभयो । प्रमुख प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगन गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ