07/02/2025, 19:07:09

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको छः गृहमन्त्री लेखक


काठमाडौँ, १८ असार : गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितका मूलभूत विषयमा केन्द्रित रही सञ्चालन भइरहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको असार १५ को बैठकअन्तर्गत विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरूले उठाएका परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका तर्फबाट आज जवाफ दिदै उहाँले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लेखकले सरकारले संविधानअनुसार स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, नेपालीको हितको रक्षा, आर्थिक समुन्नति र समृद्धिमा केन्द्रित रही परराष्ट्र नीति सञ्चालन तथा अन्तरराष्ट्रिय सम्बन्ध बिस्तार गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँ भन्नुभयो, “यस सम्बन्धमा नेपालको परराष्ट्र नीति २०७७ ले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सम्बन्ध र सहयोग बिस्तार एवम् सुदृढीकरणका लागि विस्तृत नीति, रणनीति तथा कार्यनीति स्पष्ट गरेको छ । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मर्मलाई आत्मसात् गर्दै बदलिँदो विश्व परिवेशमा निकै सुझबुझका साथ सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अङ्गीकार गर्नु आजको आवश्यकता हो । सरकारका प्रयासहरू यसैतर्फ केन्द्रित छन् ।

मन्त्री लेखकले परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक प्रमुख आधार मानेर विदेशस्थित नियोगहरूलाई व्यापार, वैदेशिक लगानी, वैदशिक सहयोग, पर्यटन तथा प्रविधि प्रवर्द्धनमा सक्रिय बनाउँदै आएको बताउनुभयो । यसका अतिरिक्त सरोकार भएका निकायहरूसँगको समन्वयमा जलवायु कूटनीतिलाई समेत प्राथमिकतामा राख्दै आइरहेको उहाँको भनाइ थियो ।

मन्त्रालयले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखी सबै नियोगहरूलाई यसको प्रवर्द्धनका लागि स्पष्ट कार्यादेश दिएको छ । यस विषयमा समन्वयका लागि मन्त्रालयमा छुट्टै आर्थिक कूटनीति महाशाखा नै गठन गरिएको छ”, उहाँले भन्नुभयो, “उक्त महाशाखामार्फत देशगत रणनीति बनाई प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

गृहमन्त्री लेखकले राजदूतहरूको नियुक्ति ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ र प्रचलित नियम कानूनअनुसार भइआएको स्पष्ट पार्नुभयो । साथै दूतावास तथा नियोगहरूमा हुने अन्य कुटनीतिक नियुक्तिसमेत प्रचलित नियम कानूनबमोजिम गरिँदै आइरहेको ब्यहोरा उहाँले सुनाउनुभयो ।

विदेशमा रहेका प्रवासी नेपालीसँगको सम्बन्ध र सहकार्यलाई परराष्ट्र मन्त्रालयले विशेष महत्त्व दिँदै आइरहेको र यस सम्बन्धमा क्रमिक रूपमा आवश्यक कानुनी तथा संरचनागत सुधारका कार्य हुँदै आइरहेको मन्त्री लेखकले जानकारी गराउनुभयो । “गैरआवासीय नेपालीको ज्ञान, सीप एवं पुँजीलाई नेपालको विकासमा लगाउन तथा निजी क्षेत्र र सरकारी निकायहरूसँग जोड्ने सन्दर्भमा परराष्ट्र मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको छ”,उहाँले भन्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ