06/18/2025, 17:21:44

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै


गुल्मी, ४ असार :  सत्यवति गाउँपालिका–८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उहाँको बारी यतिबेला किबीका बोटले ढपक्कै ढाकेको छ । उहाँले किबीखेती गरेर वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुनुहुन्छ । सत्यवती–८ का सदस्य थापाले गत ११ वर्षदेखि  किबीखेती गर्न सुरु गर्नुभएको हो । उहाँले आठ रोपनी जग्गामा किबीखेती गर्दै आउनुभएको छ । उहाँको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किबीका बिरुवा छन् ।

जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किबीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उहाँले गत वर्ष रु चार लाखको किबी र रु दुई लाखको किबीका बिरुवा बिक्री गरेको बताउनुभयो । तीन वर्षबाटै किबीले उत्पादन दिन थालेपछि थापालाई किबीखेती गर्ने उत्प्रेरणा जागेको होे ।

एउटै बोटमा ५० देखि एक क्वीन्टलसम्म किबी फल्ने गरेको छ । उहाँको बारीमा अहिले एक सय ५० किबीका बोट रहेका छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रुपमा किबीखेती गर्न सुरु गर्नुभएको हो ।

“त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु”, उहाँले भन्नुभयो । किबीमा अन्य जातका फलफुलमा भन्दा रोग खासै नलाग्ने भएको उहाँले बताउनुभयो । “वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गदैैै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ”, थापाले भन्नुभयो ।

उहाँले उत्पादन गरेको किबी बजारमा रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । उहाँले किबीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गर्नुभएको छ । किबीलाई बजारको खासै समस्या नभएको थापाले बताउनुभयो । थापाले पाँच वर्षदेखि किबीको नर्सरीसमेत गर्दै आउनुभएको छ । उहाँको नर्सरीमा यतिबेला आठ हजार किबीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई रु एक सय ५० देखि रु दुई सय पर्दछ ।

गाउँपालिकाले भार्षेलाई किबीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दैैै आएको छ । किबीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयो ।

किबीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किबी राम्रो मानिन्छ । यसको मुल्य अन्य जातको किबीको भन्दा रु एक सय बढी पर्दछ । भार्षेमा पाँच वटा किबी समूहमा ८० कृषक आबद्ध छन् । यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा किबीखेती गर्दै आइरहेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ