वासिङ्टन, १ असार: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।
तेहरानका आणविक र गुप्तचर सुविधाहरूमाथि इजरायलको आक्रमणमा वासिङ्टनको ‘कुनै संलग्नता नरहेको’ उहाँले दोहोर्याउनुभयो ।
तेहरानका अनुसार शुक्रबार बिहान सुरु भएको इजरायलको अपरेसनले इरानी आणविक र सैन्य ठाउँहरूलाई निशाना बनाएको छ र यसमा शीर्ष सेना कमाण्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’ मा आक्रमण गर्ने प्रतिज्ञा गर्नुभएको छ र इरानले घातक मिसाइल आक्रमणका साथ जवाफ दिएको छ ।
ट्रम्पले इजरायली अपरेसन सुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताउनुभएको थियो । उहाँले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाको ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैन’ भनी दोहोर्याउनुभयो ।
“यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण ग¥यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईंमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन”, उहाँले एक पोस्टमा भन्नुभयो, “हामी इरान र इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ !!!”
ट्रम्पले शुक्रबार तेहरानलाई सम्झौता गर्न वा इजरायलबाट ‘अझ क्रूर’ आक्रमणको सामना गर्न आग्रह गर्नुभएको थियो ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले एकपक्षीय रूपमा संयुक्त राज्य अमेरिकालाई फिर्ता लिनुभएपछि इरानसँगको ऐतिहासिक आणविक सम्झौता २०१८ मा ध्वस्त भएको थियो र उहाँले इरानमाथि पुनःप्रतिबन्धहरू लगाउनुभएको थियो । उक्त सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो ।