काठमाडौँ, ३० जेठ : प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा सुक्ष्म अध्ययन र सम्बद्ध निकायसँग छलफल गरिरहेको जानकारी दिएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत (सहप्रवक्ता) रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समयमा सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यससँग सम्बन्धित विषयमा सुक्ष्म रूपमा अध्ययन गर्दै काउन्सिलले सम्बद्ध निकायसँग छलफल गरिरहेको छ ।”
काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीका साथै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल (विशेषगरी युट्युब च्यानल)बाट सम्प्रेषित सामग्रीको समेत अनुगमन गर्दै आएको छ । काउन्सिलले कार्यविधि बनाएर युट्युबलाई समेत सञ्चारमाध्यमअन्तर्गत सूचीकृत भई सामग्री सम्प्रेषण गर्ने प्रावधान राखेको छ ।
काउन्सिलले कानुनी रूपमा सञ्चारमाध्यमअन्तर्गत नरही सम्प्रेषित सामग्री आचारसंहिताविपरीत देखिए सम्बन्धित निकायमा पत्राचार गर्दै आएको छ । पत्राचारअघि आचारसंहिता उल्लङ्घनबारे सञ्चालकलाई जानकारी गराई सूचीकृत हुन सचेत गराउने गरेको सहप्रवक्ता बोहराले बताउनुभयो ।