06/13/2025, 10:15:12

देवता–देवताबीच यौनिकता दर्शाइ पनौतीमा हिलेजात्रा सम्पन्न


काभ्रेपलाञ्चोक, २९ जेठः काभ्रेपलाञ्चोकको पनौतीमा देवताबीच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) हिजो राति सम्पन्न भएको छ । जात्राको अन्तिम दिन अर्थात् हिजो पूर्णिमामा दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकापसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ । सम्पूर्ण पूजा–अर्चना गरी रथयात्रा सम्पन्न गरी आज राति अबेर चिराग पूजा गरेपछि जात्रा सम्पन्न भएको हो ।

किंवदन्तीअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई लखेट्दा एक हजार ४२१ वर्षदेखि मनाइँदै आइएको यो जात्रा विशेष रूपमा सोमबार साँझदेखि करिब ५० मिटर चौडा पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइएको र देवगण (दुइचा न्याकेगू)हरूलाई सुस्तरी तारेपछि सुरु भएको थियो । किंवदन्तीअनुसार महादेव त्रिवेणीमा हामफालेर लुक्दा पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यमा अबिरजात्रा गरी रथ जुधाइने गरिँदै आइएको हो ।

जात्राको अन्तिम दिन लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् भन्ने मान्यता रहँदै आएको स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताउनुभयो । उहाँका अनुसार धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिकसम्बन्ध प्रस्तुतिका रूपमा लिइएको हो । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्ने गर्छन् ।

इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः कामक्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो, तर पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिँदै आइएको हो ।

पनौती जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा सुरुआतको दिन सोमबार राति १० बजे भद्रकालीको रथ तानेर रातभरि गैँडू पूजा (होम गर्ने) गरिएको थियो । दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामहित पूजाअर्चना गरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगर परिक्रमा गराई साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिएको थियो ।

PHOTO CREDIT: SK DIGITAL PHOTO STUDIO

स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गरेका छन् । भोजका लागि प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम छ । त्रयोदशीदेखि पूर्णिमासम्म जात्रा मनाएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता रहँदै आएको छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउनुहुन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको ठूलो जात्राका रूपमा लिने गरिएको छ । सोहीअनुसार पनौती नगरपालिकाले मङ्गलबार र बुधबार जात्रा मनाउन सार्वजनिक बिदा दिएको थियो ।

PHOTO CREDIT: SK DIGITAL PHOTO STUDIO

यसैगरी, जात्राको परम्पराअनुसार जात्राका क्रममा विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर स्थानीय कर्माचार्य समुदायका (आचाजु)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा ‘न्ह्यायकेगू’ भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास पनि गरिन्छ ।

धार्मिक आधारमा रथ जुधाउने परम्परालाई यौनिकता प्रस्तुतिका रूपमा लिइने गरिन्छ । रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गरेको देख्न पाइन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिएको विश्वास छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ