२७ जेठ, अमेरिका: अमेरिकाको लस एन्जलसमा इमिग्रेशन पोलिसीविरुद्ध चार दिनदेखि हिंस्रक प्रदर्शन जारी छ । हिंसामा अहिलेसम्म तीन जनाको मृत्यु भएको केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । तर अहिलेसम्म यसको पुष्टि भने भइसकेको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाएर प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई पक्राउ गर्न आदेश दिएका छन् ।
प्रदर्शनकारी सुरक्षा क्यामेराबाट बच्नका लागि मास्क लगाइरहेका छन् । सरकारले ६–७ जुनमा अवैध आप्रवासीलाई डिपोर्ट गर्नका लागि अभियान चलाएको थियो । त्यसयता हिंसा भड्किएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि २ हजारभन्दा बढी नेशनल गार्ड परिचालन गरिएको छ । ट्रम्पले शहरमा अवैध आप्रवासीको कब्जा रहेको र छिट्टै उनीहरुबाट मुक्त गराइने बताएका छन् ।
लस एन्जलसमा सबैभन्दा बढी मेक्सिकन आप्रवासी रहेका छन् । अमेरिकामा सन् २०२३ सम्म मेक्सिकन मूलका आप्रपासीको संख्या एक लाख ९ हजार रहेको बताइन्छ । क्यालिफोर्निया–मेक्सिको बोर्डरबाट धेरै संख्यामा आप्रवासी अमेरिकामा घुसपैठ गर्छन् । अमेरिकामा हरदिन करिब १६ सय आप्रवासीलाई पक्राउ गरिरहेको बताइएको छ ।