बिड (भारत), २६ जेठ : भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उहाँका पतिले आत्महत्या गरेपछि उहाँको जमिनले ऋण मात्रै उब्जाएको बताउनुभयो ।
भारतमा किसान आत्महत्याको लामो इतिहास छ । भारतमा धेरैजसो किसान एक बाली फसल नष्ट भएपछि विपत्तिको नजिक पुग्छन् तर जलवायु परिवर्तनले ल्याएको चरम मौसमले नयाँ दबाब थपेको छ ।
पानीको अभाव, बाढी, बढ्दो तापक्रम र अनियमित वर्षाका कारण घट्दो उत्पादन, अशक्त ऋणले भारतको एक अर्ब ४० करोड जनसङ्ख्याको ४५ प्रतिशतलाई रोजगारी दिने क्षेत्रमा ठूलो असर पारेको छ ।
तीन एकड (एक हेक्टर) सोयाबिन, कोदो र कपासको जग्गा चर्को गर्मीमा सुकेपछि मीराबाईका पति अमोललाई साहुकारहरूको ऋण लाग्यो । यो उहाँहरूको खेतको वार्षिक आम्दानीको सयौँ गुणा थियो ।
उहाँले गत वर्ष विष खानुभयो ।
“जब उहाँ अस्पतालमा हुनुहुन्थ्यो, मैले सबै देवताहरूसँग उहाँलाई बचाउन प्रार्थना गरेँ”, ३० वर्षीया मीराबाईले गला अवरुद्ध पार्दै भन्नुभयो ।
एक हप्तापछि अमोलको मृत्यु भयो । उहाँले मीराबाई र तीन सन्तान छोड्नुभयो । उहाँसँग मीराबाईको अन्तिम कुराकानी ऋणका बारेमा नै थियो ।
कुनै समय उर्वर खेतीयोग्य जमिनका लागि परिचित महाराष्ट्रको एक करोड ८० लाख जनसङ्ख्या भएको मराठवाडाभरि तिनीहरूको व्यक्तिगत त्रासदी दैनिक रूपमा दोहोरिरहेको छ ।
नयाँदिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इनभायरोन्मेन्ट अनुसन्धान समूहका अनुसार गत वर्ष भारतभर चरम मौसमी घटनाहरूले ३२ लाख हेक्टर (७९ लाख एकड) बालीको भूमिलाई असर गर्यो । यो भनेको बेल्जियमभन्दा ठूलो क्षेत्र हो ।
त्यसको ६० प्रतिशतभन्दा बढी महाराष्ट्रमा थियो ।
“गर्मी चरम हुन्छ र हामीले आवश्यक गरे पनि उत्पादन पर्याप्त हुँदैन”, अमोलका भाइ र सहकर्मी किसान बालाजी खिन्डकरले भन्नुभयो, “खेतमा सिँचाइ गर्न पर्याप्त पानी छैन । ठिकसँग वर्षा हुँदैन ।”
– जोखिम वृद्धि –
भारतका कृषिमन्त्री शिवराज सिंह चौहानका अनुसार सन् २०२२ र २०२४ को बीचमा मराठवाडामा तीन हजार ९० किसानले आत्महत्या गरे । यो दैनिक औसत तीन जनाको हाराहारी हो ।
सरकारी तथ्याङ्कले किसानहरूलाई आत्महत्या गर्न उत्प्रेरित गरेको कुरा निर्दिष्ट गर्दैन, तर विश्लेषकहरूले धेरै सम्भावित कारकहरूलाई औँल्याएका छन् ।
“भारतमा किसान आत्महत्याहरू कृषिमा आम्दानी, लगानी र उत्पादकताको सङ्कटको परिणाम हो”, टाटा इन्स्टिच्युट अफ सोशल साइन्सेसका विकास अध्ययनका प्राध्यापक आर रामकुमारले भन्नुभयो ।
धेरै भारतीय साना खेतहरूमा खेती धेरै हदसम्म शताब्दीयौँदेखि हुँदै आएको छ र सही समयमा सही मौसममा अत्यधिक निर्भर छ ।
“जलवायु परिवर्तन र यसको कमजोरी तथा परिवर्तनशीलताले गर्दा खेतीमा जोखिम बढाएको छ”, रामकुमारले भन्नुभयो, “यसले बाली फसल नष्ट, अनिश्चितता… निम्त्याइरहेको छ… जसले साना र सीमान्त किसानहरूको खेतीको अर्थशास्त्रलाई अझ कमजोर बनाएको छ ।”
चरम मौसमी घटनाहरूसँग सामना गर्न राम्रो बीमा योजनाहरू र कृषि अनुसन्धानमा लगानीका साथ सरकारले किसानहरूलाई सहयोग गर्नसक्ने उहाँले बताउनुभयो ।
“कृषि मनसुनसँग जुवा खेल्ने काम हुनु हुँदैन”, उहाँले भन्नुभयो ।
अनिश्चित मौसमको सामना गर्दै किसानहरू प्रायः मल वा सिँचाइ प्रणालीहरूमा लगानी गरेर घट्दो उत्पादनलाई रोक्न खोज्छन् ।
तर बैंकहरू यस्ता अनिश्चित ऋणीहरूलाई कर्जा दिन अनिच्छुक हुन सक्छन् ।
केहीले तुरुन्त नगद दिने तर अत्यधिक ब्याजदर लिने साहुकारहरूकहाँ फर्कन्छन् र बाली फसल नष्ट भए विपत्तिको जोखिम मोल्छन् ।
“केवल खेतीले मात्र गुजारा चलाउन गार्हो छ”, मीराबाईले आफ्नो घर बाहिर उभिएर प्याच–कपडाको पर्खाल भएको टिनको छत भएको झुपडीमा भन्नुभयो ।
उहाँका पतिको ऋण आठ हजार डलरभन्दा बढी पुगेको थियो । कृषि गृहस्थीको औसत मासिक आम्दानी लगभग एक सय २० डलर मात्र रहेको भारतमा यो ठूलो रकम हो ।
मीराबाईले अन्य खेतहरूमा मजदुरको काम गर्नुहुन्छ तर ऋण तिर्न सक्नुभएन ।
“ऋणको किस्ताहरू थुप्रिँदै गए”, उहाँले भन्नुभयो, “खेतबाट केही आउँदैन ।”
उहाँ आफ्ना बच्चाहरूले ठूला भएपछि खेती बाहिर काम खोजून् भन्ने चाहनुभएको छ ।
कृषि उद्योग दशकौँदेखि निरन्तर सङ्कटमा परेको छ ।
महाराष्ट्रमा आत्महत्याको दर सबैभन्दा बढी भए पनि यो समस्या देशव्यापी छ ।
राष्ट्रिय अपराध रेकर्ड ब्युरोको तथ्याङ्कअनुसार सन् २०२२ मा कृषि क्षेत्रका ३० जनाले हरेक दिन आत्महत्या गरेका थिए ।
मराठवाडाको अर्को खेतमा ३२ वर्षीय किसान शेख इमरानले गत वर्ष आफ्नो भाइले आत्महत्या गरेपछि परिवारको सानो जोतको सञ्चालन सम्हाल्नुभएको थियो ।
सोयाबिन रोप्न ऋण लिएपछि उहाँमाथि पहिले नै एक हजार एक सय डलरभन्दा बढी ऋण छ ।
फसल असफल भयो ।
यसैबीच किसानहरूले पानी भेट्ने आशामा इनार विस्फोट गराउँदा विस्फोटकको आवाज वरिपरि गुञ्जिरहेको छ ।
“पिउने पानी छैन”, पारिवारिक मुखिया खतिजाबीले भन्नुभयो, “खेत सिँचाइ गर्न पानी कहाँबाट ल्याउने ?”