काठमाडौँ, १९ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उहाँले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राख्नुभएको नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
“सत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राख्नुभयो । गृहमन्त्री लगायतले पनि राजिनामा होइन, संसद् खोलेर अघि बढनुपर्छ भन्ने कुरा राख्नुभयो”, प्रमुख सचेतक पाण्डेले भन्नुभयो, “हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरु नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाआँै भन्ने भएको छ ।”
प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत नै रहेको जनाउँदै ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेता सहभागी हुनुहुन्थ्यो ।