काठमाडौँ, १७ जेठः प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘विगतका पाठ र आजको प्रश्न’ शीर्षकको सम्पादक संवादमा सहभागी सम्पादक तथा पत्रकारहरूले पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, प्रविधिको प्रभाव र पत्रकारिताको अभ्यासबारे आ–आफ्ना धारणा राख्नुभएको छ ।
बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारिताको मूल आधार सशक्त कन्टेन्ट भएको उल्लेख गर्दै माध्यम जस्तोसुकै भए पनि समाचारको गुणस्तर प्रधान हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकार र शक्तिमा रहेकाहरूलाई सचेत गराउने कार्य पत्रकारिताको मूल कर्तव्य भएको उल्लेख गर्नुभयो ।
नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले कृत्रिम बौद्धिकता (एआई)का कारण केही डर उत्पन्न भए पनि यस्तो प्रविधिले पत्रकारिता विस्थापित गर्न नसक्ने बताउनुभयो । समयानुकूल आफूलाई कसरी परिमार्जन गर्दै लैजाने भन्ने कुरामा पत्रकारहरू सजग हुनुपर्ने उहाँको भनाइ थियो ।
दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले डिजिटल माध्यमको विस्तार भएको भए पनि छापा माध्यमको महत्व यथावत् रहने उल्लेख गर्नुभयो । उहाँले पाठकले फरक र गुणस्तरीय सामग्री खोजिरहेका कारण सामग्रीको विकासमा मिहिनेत आवश्यक रहेको बताउनुभयो ।
कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेलले नागरिकसँग सञ्चारमाध्यम नजिक जान नसकेको बताउनुभयो । उहाँले मिडियामा आफ्नो आवाज समेटिएको महसुस गर्न नसक्दा दर्शक तथा पाठक मिडियाबाट टाढिन थालेको उल्लेख गर्दै सञ्चारमाध्यमले प्रविधिको सहायताबाट जनतासँगको सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।
डिजिटल मिडिया अलायन्सकी उपाध्यक्ष मोनिका सिंहले युट्युब वा फेसबुकजस्ता प्लेटफर्मले पत्रकारिता बिगारेको भन्ने भाष्य निर्माण हुनु गलत रहेको र त्यस्ता माध्यमलाई दोषी ठहर गर्नुको सट्टा समस्या समाधानका उपाय पहिचान गर्न पत्रकारिता क्षेत्र स्वयं जिम्मेवार हुनुपर्ने बताउनुभयो ।