05/31/2025, 12:17:40

अमेरिकाद्वारा बर्ड फ्लुको खोपका लागि मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द


वासिङ्टन, १६  जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एभियन फ्लू खोप विकास गर्न मोडर्नासँगको ५९ करोड डलरको सम्झौता बुधबार रद्द गरेको अमेरिकी बायोटेक कम्पनीले जनाएको छ । यसले खोपको बारेमा गलत सूचना प्रवद्र्धन गर्न दशकौँ  बिताउनुभएका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरको खोपहरू विरुद्धको पछिल्लो कदमलाई चिह्नित गरेको छ ।

ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा तीन दिनअघि जनवरी १७ मा घोषणा गरिएको सम्झौता चरा र गाईवस्तुमा सर्ने एच५एन१ इन्फ्लुएन्जा स्ट्रेनलाई लक्षित गर्ने एमआरएनए खोपका लागि थियो । विज्ञहरूले यो भाइरस मानिसमा फैलिन सक्ने र महामारी निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी फर्मास्युटिकल र बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सुरक्षा र प्रतिरक्षा प्रतिक्रिया परीक्षण गर्न डिजाइन गरिएको तीन सय व्यक्तिको प्रारम्भिक चरणको क्लिनिकल परीक्षणबाट सकारात्मक परिणामहरू घोषणा गरेपछि समाचारको खुलासा गरेको थियो ।

एचएचएसबाट कोषको समाप्तिले अनिश्चितता थप्दछ, हामी हाम्रो एच५ एभियन फ्लु खोपको चरण १/२ अध्ययनको यस अन्तरिम विश्लेषणमा अवलोकन गरिएको बलियो प्रतिरक्षा प्रतिक्रिया र सुरक्षा प्रोफाइलबाट खुसी छौँ र हामी कार्यक्रमका लागि वैकल्पिक मार्गहरू अन्वेषण गर्नेछौँ”, सिइओ स्टेफन बानसेलले एक विज्ञप्तिमा भन्नुभयो, “महामारी इन्फ्लुएन्जामा यी क्लिनिकल डाटाले एमआरएनए प्रविधिले उदाउँदो स्वास्थ्य खतराहरूको प्रतिकारका रूपमा खेलेको महत्त्वपूर्ण भूमिकालाई जोड दिन्छ ।

विज्ञप्तिमा मोडर्नाले खोपको विकास र निर्माण कोषका लागि ‘विकल्पहरू खोज्ने’ बताइएको छ ।

पूर्वराष्ट्रपति जो बाइडेनको कोभिड–१९ प्रतिक्रिया संयोजकका रूपमा काम गरेका जनस्वास्थ्य विज्ञ डा आशिष झाले निराश प्रतिक्रिया दिनुभयो । “एमआरएनए खोपहरूमा भएको आक्रमण अर्थहीन छ”, उहाँले एक्समा पोस्ट गर्नुभयो, “यो राष्ट्रपति ट्रम्पको अपरेसन वार्प स्पीड थियो जसले हामीलाई एमआरएनए खोप दियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ