05/29/2025, 04:24:43

अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण


चितवन, १३ जेठः यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ ।

अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’ सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिनुभयो । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्षेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन तथ्याङ्क कुनै निकयसँग छैन ।

रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । प्रमुख डा पाण्डेले भन्नुभयो, “रक्त क्यान्सरको टाइप पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।

एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उहाँहरु तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण जडान गरेर र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताउनुभयो । यही परीक्षण हुने भएसँगै बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलार्ई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ