काठमाडौँ, १३ जेठ : लेखक जीवा लामिछानेले अन्टार्कटिकाको यात्रा संस्मरणलाई आधार मानेर तयार गर्नुभएको पुस्तक ‘अक्षत अन्टार्कटिका’ लाई वर्ष २०८१ को ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिएको छ ।
आज यहाँ मैतीदेवीमा रहेको स्वर्गीय कृष्ण योग केन्द्रमा आयोजित समारोहमा लेखक लामिछानेलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ का तर्फबाट अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिना, डा वासुदेव त्रिपाठीलगायतले रु एक लाख राशीको उक्त पुरस्कार प्रदान गर्नुभयो ।
साहित्यकार डा त्रिपाठीले ‘अक्षत अन्टार्कटिका’ ले पाठकलाई ‘अन्टार्कटिका’ को यात्रा गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “लेखक लामिछानेले लेख्नुभएको पुस्तकले मलाई पुराना साहित्यकारको शैलीको जस्तै आभाष दिलाएको छ । उहाँको यात्रा स्मरणले हामीलाई पनि त्यहि पुगेको महससु गराएको छ ।” डा त्रिपाठीले साहित्यकार उत्तम कुँवरसँगको भेटघाट, नेपाली साहित्यको विकासमा ‘रुप रेखा’ को योगदानका विषयमा चर्चा गर्नुभयो ।
गुठीका अध्यक्ष डा तिमिल्सिनाले ‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमाञ्चक यात्रावृतान्तमार्फत् पर्यावरणजस्तो विषयलाई सशक्त रूपमा बहसको विषय बनाउन सफल भएकाले उक्त पुरस्कार दिने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लेखक लामिछानेभन्दा पनि अगाडि ‘अन्टार्कटिका’ मा अरु नपुगेका होइनन्, तर उनीहरूको यात्रासँगै त्यो अनुभव सकियो, तर लामिछानेले हामीलाई आफ्नो अनुभूति पुस्तकमार्फत साट्नु भयो । हामी पाठकका रूपमा यो पुस्तक पढेपछि आनन्दित भएका छौँ । यसले अन्यलाई यात्रा गर्न र त्यसलाई साहित्यका माध्यमले संग्रहित गर्न प्रेरणा दिन्छ ।”
डा तिमिल्सिनाले यो पुरस्कारलाई साहित्यकार कुँवर परिवारको सहयोगले निरन्तर रुपमा अगाडि बढाइरहेका बताउनुभयो । वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायत आख्यानमुक्त गद्य विधामा रचना गरिएका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले विसं २०४४ देखि रु एक लाख राशिका पुरस्कार समर्पित गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।

लेखक लामिछाने पुरस्कारले लेखकका रूपमा आफूलाई ऊर्जा थपेको बताउनुभयो । “यो एकदमै प्रतिष्ठित पुरस्कार पाउँदा मैले जिम्मवारी बढेको महसुस गरेको छु । मलाई लेखकका रूपमा अगाडि बढ्न यसले उत्तरदायित्व थप्नुका साथै उर्जा दिएको छ”, उहाँले भन्नुभयो ।
‘स्रष्टा र साहित्य’ नामक अन्तर्वार्ता कृतिका लागि विसं २०२३ मा मदन पुरस्कार प्राप्त गर्नुभएका ‘रुपरेखा’ का सम्पादक तथा निबन्धकार उत्तम कुँवर विसं २०३९ मा ४३ वर्षको उमेरमै दिवङ्गत हुनु भएपछि उहाँको स्मृतिमा उहाँकी धर्मपत्नी शान्ति कुँवरले यो पुरस्कारको स्थापना गर्नुभएको थियो ।
विगतमा यस पुरस्कारबाट मञ्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भुपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे, परशु प्रधान, देवेन्द्र भट्टराई, गिरीश गिरी, टुकराज मिश्र, कृष्णचन्द्रसिंह प्रधान, निर्मोही व्यासलगायत पुरस्कृत भइसक्नुभएको गुठीले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





