05/22/2025, 16:34:26

सन्दीप रेड्डीको फिल्म ‘स्पिरिट’बाट बाहिरिइन् दीपिका पादुकोण


८ जेठ, काठमाडौँ : सन् २०२४ मा साउथ सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोणले फिल्म ‘कल्की २८९८ एडी’ मा सँगै काम गरे ।

फिल्मले विश्वभरि एक हजार करोडमाथि कमाइ गरेको थियो । यो फिल्मपछि दुवै जनाले फेरि एक पटकसँगै स्क्रिन शेयर गर्ने चर्चा थियो । तर तत्कालका लागि त्यो सम्भावना टरेको छ । उनीहरू सँगै देखिने चर्चा भएको फिल्मबाट दीपिका बाहिरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यो फिल्म निर्देशक सन्दीप रेड्डी वांगाद्वारा निर्देशित ‘स्पिरिट’ हो । फिल्ममा प्रभास मुख्य भूमिकामा छन् । पहिला दीपिका मुख्य पात्रको सूचीमा थिइन् ।

तर, निर्माण टिमसँग पारिश्रमिकको विषयमा कुरा नमिलेपछि दिपिका नहुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दीपिकाले मागेको पारिश्रमिकमा निर्देशक वांगा सहमत भएनन् । अन्तत: दीपिका फिल्मबाट बाहिरिइन् । ‘स्पिरिट’ का लागि दीपिकाले २० करोड रुपैयाँ पारिश्रमिक माग गरेकी थिइन् । साथै उनले फिल्मको मुनाफाबाट पनि हिस्सा मागेकी थिइन् । निर्देशकले अहिले नयाँ अभिनेत्रीको खोजी सुरु गरिसकेका छन् ।

यद्यपि, दीपिकासँग अर्को ठूलो प्रोजेक्ट ‘किंग’ छ । यो फिल्ममा शाहरुख खान हुनेछन् । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । यस फिल्ममार्फत् शाहरुखकी छोरी सुहाना खानले सिल्भर स्क्रिनमा डेब्यु गर्दैछिन् ।

शाहरुख, दीपिका र सुहानासँगै अनिल कपूर, अभिषेक बच्चन, अरशद वारसी जस्ता कलाकारहरू पनि यस फिल्ममा छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ