७ जेठ, काठमाडौं : जेठ २३ देखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’को तेस्रो गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गीतको बोल छ- ‘मुकु मुकु म्या’ ।
यो फिल्मको शीर्ष गीत हो । ग्रामिण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा फिल्मका मुख्य पात्र सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन् । गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको सङ्गीत छ । प्रदीप लामाको नृत्य निर्देशनमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।
विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि फिल्मको कथा आधारित रहेको निर्देशक सिमोस सुनुवारले बताए । फिल्ममा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरको अभिनय छ । यसअघि फिल्मका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ सार्वजनिक छन् ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको फिल्म कमेडी जनरामा आधारित छ । सन्तोष गौतमको लगानी रहेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन छ ।