१२ वैशाख, काठमाडौं : प्रमुख प्रतिपक्ष दलका नेता एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ गठबन्धनबारे कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि कुरा हुने बताएका छन्। देउवाका आफ्नो स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंकक गएका छन्। अध्यक्ष दाहालले देउवा थाइल्याण्ड जानेबेला टेलिफोनमा कुराकानी भएको र अब फर्किएपछि थप कुराकानी हुने बताए।
बिहीबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए। त्यसक्रममा दाहालले देउवा उपचारका लागि बैंकक जानुअघि आफ्नो संवाद भएको खुलाएका थिए।
बैठकमा सांसदहरूले कांग्रेससित गठबन्धन बनाउनेबारे राखेको जिज्ञासामा दाहालले माओवादी तत्काल सरकारमा जाने पक्षमा नरहेको, तर बाहिर बसेर कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई सघाउन सक्ने बताएका थिए । ‘तत्काल सरकारमा जाने पक्षमा हामी छैनौँ,’ दाहालको भनाइ उद्धृत गर्दै सांसद माधव सापकोटाले भने, ‘देउवाजी फर्किएपछि कुरा गरौँला भन्ने कुरा भएको छ।’ बैठकमा अध्यक्ष दाहालले अहिलेको सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको बताएका थिए। उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, शिक्षकको आन्दोलन, कांग्रेसभित्रको असन्तुष्टिका कारण ओली सरकार संकटमा परेको बताएका थिए।
‘राष्ट्र संकटमा परेको बेला हेरेर बस्ने अवस्था छैन । हामीसँग अवसर र चुनौती छ,’ दाहालको भनाइ थियो, ‘सरकार आफ्नै कारणले ढल्छ ।’ केही दिनअघि देउवा र दाहालबीच भएको संवादमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । स्रोतका अनुसार त्यसबेला दाहालले एमालेसँग गठबन्धन तोड्न तयार भए माओवादीले सघाउने बताएका थिए । दाहालले इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिंदै देउवा नयाँ गठबन्धन बनाउन अघि सरे सरकारमा गएर वा नगएर सघाउने बताएका थिए । गत असारमा कांग्रेस-एमालेबीच गठबन्धन बनेपछि दाहाल सरकारबाट हटेका थिए ।
कांग्रेस र एमालेबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अन्यौलमा परेपछि सरकारको भविष्यमाथि आशंका हुन थालेकोछ। देउवा र ओलीबीच गभर्नर गुणाकर भट्टराई नियुक्त गर्ने सहमति भए पनि प्रधामन्मन्त्रीले नियुक्ति प्रक्रिया अघि बढाएका छैनन् । माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले गठबन्धनको प्रमुख दल कांग्रेसभित्र असन्तुष्टि बढिरहेकाले सरकार संकटमा देखिएको बताए । ‘बिभिन्न घटनाक्रमले सरकार संकटमा परेको देखिएको छ,’ उनले भने, ‘आफ्नै कारणले सरकारको धरातल कमजोर हुँदै गएको छ ।‘
त्यस्तै माओवादी संसदीय दलको बैठकले सरकारलाई शिक्षा, निजामति, प्रहरी विधेयक अघि बढाउन दबाव दिने निर्णय गरेको छ । संसद्मा प्रतिपक्ष दलको तर्फबाट प्रभावकारी ढंगले कुरा उठाउने निर्णय भएको प्रमुख प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘निजामती विधेयक र शिक्षा विधेयक पारित गर्न पहल कदम लिने निर्णय भएको छ,’ उनले भने।
माओवादीले सार्वजनिक लेखा समितिबारे पहिलेदेखिनै प्रतिपक्षलाई पाउने अभ्यासबारे कुरा उठाउने भएको छ । शुक्रबार सुरु हुने बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा दाहाल उपस्थित भएका छन्। दाहाल गोरखा भूकम्प गएको १० वर्ष पुगेको कार्यक्रममा सहभागी हुन बारपाक पुगेका छन् ।
‘सरकारले हामीसँग समन्वय नै नगरी संसद्को बैठक बोलाउन सिफारिश गर्यो । बैठक सुरु भएकै दिन प्रधानमन्त्रीले सम्बोधन गरेर ढिलो गरी जानकारी दिइयो,’ मुख्य सचेतक पाण्डेले भने, ‘संसद्को शुक्रबारको बैठकमा अध्यक्ष दाहाल सहभागी हुन भ्याउनु हुन्न।’