04/22/2025, 11:45:45

घट्दै तिब्बतीयन शरणार्थी : ४८ जनाको परिचयपत्र नवीकरण


गलकोट (बागलुङ), ९ वैशाखः बागलुङको ढोरपाटन उपत्यका क्षेत्रमा बस्दै आएका ४८ तिब्बतीयन शरणार्थीको पचिरयपत्र नविकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समूहले तिब्बतबाट आएर यहाँ बसेका शरणार्थीको गाउँमा पुगेर परिचयपत्र नविकरण गरेको हो ।

पछिल्लो समय शरणार्थी बसाइँसराइका कारण पोखरा, काठमाडौँलगायत देशका ठूला सहरमा जान थालेपछि परिचयपत्र नविकरण गर्नेको सङ्ख्यामा क्रमशः कमि आउँदै गएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

गत आवमा ५० को परिचयपत्र नविकरण भएकामा चालु आवमा ४८ जनाको नविकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिनुभयो । नेपालमा बस्ने अस्थायी परिचयपत्र वार्षिक रूपमा नविकरण गरिँदै आइएको उहाँको भनाइ छ ।

उहाँहरूको बस्तीमा पुगेर नविकरण गरिन्छ, अघिल्लो वर्ष ५० जनाको नविकरण भएकामा चालु आवमा ४८ जनाको भयो । उहाँहरू विभिन्न सहरमा व्यापारका लागि जाने र नविकरणका लागि आफ्नो क्याम्प रहेको ढोरपाटने आउने गरेको पाइयो, केही बिरामी भएरसमेत नविकरणमा नआएको सुनियो”, पौडेलले भन्नुभयो   “उहाँहरूलाई नेपालमा बस्ने अनुमतिका लागि परिचयपत्र दिँदै आएका छौँ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो चार वर्षमा शरणार्थी परिचयपत्र नविकरण गर्नेको सङ्ख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ मा ५६, आव २०७९/८० मा ५३, आव २०८०/८१ मा ५० र चालु आवमा ४८ शरणार्थीले परिचयपत्र नविकरण गरेका छन् ।

ढोरपाटन–९ स्थित चारगाउँ, छेन्तुङलगायत ठाउँ तिब्बतीयन शरणार्थीको बसोबास रही आएको वडाध्यक्ष खिमबहादुर घर्तीले जानकारी दिनुभयो । अधिकांश शरणार्थी नविकरणका लागि मात्रै ढोरपाटन आउने गरेका बताउँदै उहाँले पोखरा र काठमाडाैँजस्ता ठूला सहरमा व्यवसाय गर्दै आएका उल्लेख गर्नुभयो ।

उहाँहरूका परिवार नेपालबाट विदेशसमेत जान थालेकाले तिब्बतीयन शरणार्थी बस्ती क्रमशः खाली हुँदै गएको वडाध्यक्ष घर्तीले बताउनुभयो । ढोरपाटन छोड्दा यहाँ बनेका घर जीर्ण बन्दै गएका हुन् । खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै जान थालेका उहाँको भनाइ छ । वडाध्यक्षका अनुसार अहिले तिब्बतीयन बसेको ठाउँमा केही बुढापाका मात्रै छन् ।

व्यापार व्यवसायका लागि सहरमा जाने भएकाले क्याम सुनसान भइरहेको निमा ल्याह्मोले बताउनुभयो । उहाँले पहिले धेरै शरणार्थी भएकामा अहिले व्यापार, विदेशलगायत कारणले बसाइँसराइ गर्नाले बस्ती खाली हुँदै गएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ