लमजुङ, कात्तिक २६ गते ।लमजुङका किसानहरु यतिबेला धान काट्न र थन्काउन व्यस्त छन् । तर धान थन्काउने बेला विगतको जस्तो रमाइलो भने छैन । एक दशक अघिसम्म मङ्सिर पुस महिनामा एकाबिहानै फाँटका गह्राहरूबाट धुँवा आइरहेका हुन्थे । घरकी मुल मान्छे खानाको तयारी गर्नुहुन्थ्यो, गह्राभरी छरिएका मानिसहरू कोही धान झाँट्दै, कोही गोरु धपाउँदै त कोही पराल मियोमा हाल्दै हुन्थे ।
दाइँको दिन कुनियोबाट धानको मुठा निकाली दयराहरूले झाँट्ने, खलोमा पराल छर्ने, धेरैभन्दा धेरै गोरु मियोमा बाँधेर, दाईँगीतका भाका हाल्नुको मज्जा नै बेग्लै हुन्थ्यो । तर आजभोली थ्रेसर र ट्याक्टरले दाइँ हल्न थालेपछि विगतका यस्ता रमाइला दृश्य देख्न छोडिएको मर्स्याङ्दी गाउँपालिका–९ का ८२ वर्षीय उमाकान्त गौतमले बताउनुभयो ।
पहिला पहिला किसानहरू एकआपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो । दाइँ हाल्न अर्मपर्म लगाइन्ग्यो । कसको दाइँ कहिले हाल्ने भनेर पालो लगाइन्थ्यो, हिजोआज त्यस्ता परम्परा हराउँदै गयो । गोरुको सहायताले हाल्ने दाइँ संस्कृतिको साटो थ्रेसर र ट्याक्टर भित्रियो । गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ संस्कृति हराउँदै जान थालेको हो । गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो खलो खुर्किएर, गोबरमाटोले लिपेर मियोमा गोरु घुमाएर दाइँ हाल्ने चलन हराउँदै गएको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका बिर्ख गुरुङले बताउनुभयो ।
एक दशक अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका किसानहरू पछिल्लो समय गोरुको अभाव हुने थालेपछि आधुनिक मेशिनको सहायताबाट दाइँ हाल्न थालेका छन् । “गाउँघरमा गोरु पाल्नै छोडिसके, पराल माड्न हाते ट्याक्टर प्रयोग गर्ने गरेका छौं”, घेर्मुका बिर्ख गुरुङले भन्नुभयो, “दाइँ हाल्दा पहिलाको जस्तो रमाइलो हरायो ।”
कृषिमा प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झराल्ने दाइँ हाल्ने परम्परा लोप हुन थालेको बेंसीसहर–९ का बेनबहादुर सुँयलले बताउनुभयो । युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ हाल्ने संस्कृति लोप हुन थालेको किसानहरु बताउँछन् ।
दाइँको तयारीका लागि ५/७ दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठुलो गह्रो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुनियो लगाउने प्रचलन थियो । दाइँमा सिमेभुमे नागहरूको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकता तर्फ लागेको सूयलले बताउनुभयो । कृषिमा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै जाने हो भने केही वर्षभित्रै जिल्लामा गोरुको सहायताले दाइँ गर्ने संस्कृति लोप हुने किसानहरु बताउछन् ।
_नवीनराज कुइँकेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















