म्याग्दी, कात्तिक १८ : शारीरिक तथा मानसिक स्वास्थ्योपचारका लागि सदरमुकाम बेनीदेखि नजिकको गन्तव्य बनेको तातोपानी कुण्डमा पछिल्लो डेढ वर्षदेखि धार्मिक आस्थाको समेत केन्द्र बनेको छ ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका सिङ्गास्थित तातोपानी कुण्डमा थकान मेट्न र रोग निको पार्नका लागि पुग्ने बिरामीको सङ्ख्या हरेक दिन बढ्दै गएको छ । यो स्थल धार्मिक आस्थाको समेत केन्द्र बन्दै गएको छ । २०८१ साउन ७ गते सोमबारदेखि थालिएको सन्ध्या आरतीमा धार्मिक आस्थासहित पुग्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएपछि हरेक सोमबार आरतीलाई निरन्तरता दिइँदै आएको छ ।
गएको सोमबार सन्ध्या आरतीमा सहभागी हुनुभएका बागलुङका व्यवसायी दयाराम पौडेलले धार्मिक आस्थाका साथै स्वास्थ्यलाभका लागि भनेर कुण्डमा नुहाउन आएको बताउनुभयो । उहाँले हरेक सोमबार हुने सन्ध्या आरती नछुटाएको बताउनुभयो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सल्लाहकारसमेत रहनुभएका पौडेलले तातोपानीमा नुहाउँदा विभिन्न रोग निको हुने विश्वासलाई सन्ध्या आरतीले धार्मिक आस्थासँग पनि जोडेको बताउनुभयो ।
बागलुङका राजु खड्काको अगुवाइमा हुने सन्ध्या आरतीमा अन्य सबै स्थानीय नै प्रयोग भइरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । सुरुको समयमा खर्च व्यवस्थापन केही कठिन हुन्छ कि जस्तो लागेको भए पनि पछिल्लो समय भने आरतीका लागि खर्च व्यवस्थापनमा खासै समस्या नभएको उहाँले बताउनुभयो । मासिक रूपमा मूल वाचकलाई २५ हजार रुपियाँ र बटुकलाई प्रतिदिन काम हुँदा जनही एक हजार रुपियाँ तथा कन्यालाई जनही पाँच सय रुपियाँका दरले रकम भुक्तानी गर्ने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

पछिल्लो १६ महिनादेखि कुण्डमा सन्ध्या आरती हुने गरेको र आरतीमा सहभागी हुन र नुहाउनका लागि आउने बिरामी तथा अन्य भक्तजनको पनि भिड लाग्ने गरेको स्थानीय बासिन्दा ईश्वरसिंह केसीले जानकारी दिनुभयो ।
गत वर्षको साउनदेखि थालनी भएको सन्ध्या महाआरती यस वर्ष साउनका सबै सोमबार गलेश्वर शिवालयमा समेत गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गलेश्वर शिवालय क्षेत्र विकास कोषको आयोजना र तातोपानी कुण्ड व्यवस्थापन समितिको समन्वयमा साउनका सबै सोमबार गलेश्वरमा आरती गरिएको थियो ।
स्वास्थ्योपचारसँगै पर्यटन विकासका लागि पनि निकै राम्रो मानिने बेनी नगरपालिका–४, सिङ्गा तातोपानी कुण्डमा वर्षमा सबैभन्दा थोरै असार, साउन र भदौमा पर्यटक तथा बिरामी आउने गरेका छन् भने असोज लागेसँगै स्नानका लागि आउनेको सङ्ख्या बढ्ने गरेको छ । तातोपानी कुण्डमा स्नान गरेर रोग निको पार्ने मात्रै नभएर आफ्नो थकान मेटाउने तथा पर्यटन प्रवर्धनका लागि पनि महìवपूर्ण छ ।
म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिमतर्फ नौ किलोमिटरको दुरीमा रहेको कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँका साथै विदेशी पनि आउने गरेका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका लेखापाल रमेशबहादुर कार्कीका अनुसार गत आर्थिक वर्षमा नेपालका ६० भन्दा बढी जिल्ला तथा कोरिया, जापान, पोल्याण्ड, भारत, रसिया, इजरायल, युक्रेन र स्कटल्यान्डका नागरिकसमेत आएको रेकर्ड छ ।

कुण्डमा नुहाउनका लागि आव २०८०/८१ मा १९ हजार ४०३ जना, आव २०७९/८० मा १८ हजार २५८ जना पुगेका थिए । त्यसै गरी आव २०७८/७९ मा १० हजार ९२० जना, २०७७/७८ मा सात हजार ६९१ बिरामीले नुहाएका थिए । कोभिड १९ का कारण भएको लकडाउनका समयमा पनि साढे सात हजार बिरामीले कुण्डमा नुहाएको तथ्याङ्क रहेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव अम्मरबहादुर खत्रीले स्नान गर्न आउनेको चाप अनुसार महिला, पुरुषको समूह बनाएर स्नानको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ । बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको जस्ता स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।
तातोपानी सङ्कलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति ३५० शुल्क तिर्नु पर्छ । प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । कुण्डमा स्नानका लागि आएकाबाट प्रवेश शुल्कबापत गत आवमा ७१ लाख २१ हजार ४५० रुपियाँ, आव २०८०/८१ मा ६७ लाख ९१ हजार ५० रुपियाँ र आव २०७९÷८० मा ६३ लाख ९० हजार तीन सय रुपियाँ तातोपानी कुण्डले सङ्कलन गरेको थियो ।
– अमृतप्रसाद पौडेल

										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    














