मनाङ, कात्तिक १७ : तिलिचो आधार शिविरमा फसेका ११ जना नेपाली पर्यटक चामे आइपुगेका छन् । उनीहरूलाई सशस्त्र प्रहरी बलको हिमाल उद्धार टोलीले शनिबार उद्धार गरेको थियो । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो आधार शिविरमा फसेका ११ जना पर्यटकलाई सशस्त्र प्रहरी बल, स्थानीय तथा जनप्रतिनिधिको पहलमा उद्धार गरी खाङ्सार ल्याइएको हो । खाङ्सारबाट गाडीको व्यवस्था गरी सदरमुकाम चामे पठाइएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताउनुभयो ।
वडाध्यक्ष गुरुङले भन्नुभयो, “उहाँहरू खाङ्सारमा बस्न मान्नुभएन, त्यसैले गाडीको व्यवस्था गरी चामे पठायौँ ।” गुरुङका अनुसार खाङ्सारभन्दा तल बाटो राम्रो रहेको र हिउँ पनि पग्लेको छ, उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य नै छ । उच्च हिमाली भेगमा सबैको अक्सिजनको तह कम हुने बताउँदै प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले भन्नुभयो, “एक जनाको लिगामेन्ट च्यातिएको तथा एक बालकलाई सामान्य ज्वरो आएको छ । उहाँहरू सबै ११ जनाको नै उद्धार गरिएको छ ।”

साँघुरो, भिरालो ठाउँ र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै नौ घण्टाको प्रयासपछि उद्धारको काम भएको बताइएको छ । पर्वतीय उद्धार तालिम शिक्षालयका एसपी टोपबहादुर डाँगीको कमान्डमा स्वास्थ्य जनशक्ति तथा उद्धार टोली सो काममा खटिएको थियो । मनाङको मौसम अझै पनि प्रतिकूल भएकाले थोराङ्ला पास तथा पदयात्रा गर्न रोक लगाइएको छ ।
मौसममा सुधार आएपछि मात्रै हिमाल आरोहण तथा पदयात्रा गर्न अनुमति दिने प्रजिअ पौड्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विपत् व्यवस्थापन समितिको बैठक बसेर सात दिनका लागि पदयात्रा तथा हिमाल आरोहणमा रोक लगाइएको हो, आज चार दिन बित्यो, हेरौँ मौसम कस्तो हुन्छ, त्यसैमा भर पर्छ ।”
यसैबिच अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले खाङ्सारभन्दा माथि एक्यापको सहयोगमा बाटो खोल्ने कार्य भइरहेको बताउनुभएको छ । स्थानीय तथा जनप्रतिनिधिको रोहबरमा सो कार्य भइरहेको हो । उहाँले भन्नुभयो, “याकखर्कभन्दा माथि सञ्चार सम्पर्क बन्द भएको छ, टेलिफोन तथा इन्टरनेट चलेको छैन ।” उहाँले सञ्चार सम्पर्क नहुँदा नार्पाभूमिका बारेमा कुनै जानकारी लिन नसकेको बताउनुभयो ।













