11/05/2025, 20:55:59
बुधबार, कार्तिक २०, २०८२

सिद्धबराहको गाजा दहमा बैकुण्ठ चतुर्दशी मेला


बागलुङ, कात्तिक १९ : धार्मिक तथा पर्यटकीय सिद्धबराह (रुद्र ताल) रहेको गाजाको दहमा बैकुण्ठ चतुर्दशीको अबसरमा आधा दर्जन तोरण तारिएको छ । हरेक वर्ष मेला लाग्ने गाजाको दहमा बुधबार स्थानीय जैमिनी नगरपालिका –३ नौलाबासीको एक तोरणसहित विभिन्न स्थानबाट ल्याइएको तोरण तारिएको हो ।

गत वर्ष आयोजना गरिएको महायज्ञबाट संकलित रकमले यहाँ सिद्ध बराहको मूर्ति बनाइएको छ । बैकुण्ठ चतुर्दशीकै अवसर पारेर उक्त मूर्ति अनावरण भयो । चिन्तन चैतन्य डा. लेखानाथ आचार्यले उक्त मूर्तिमा प्राणप्रतिष्ठा गरेर अनावरण गर्नुभएको थियो ।

गाजाको दहमै कात्तिक १६ गतेदेखि बराह पुराण पनि लगाइएको थियो । पुराणका लागि वाचक व्यसाचार्य शिवदत्त रेग्मी सहभागी हुनुहुन्छ । उहाँले बराह पुराण र गाजाको दहको महत्वबारे समेत वाचन गर्नुभएको थियो ।

बैकुण्ठ चतुर्दशीको अवसर पारेर गाजाको दहमै भलिबल लगायतको खेल प्रतियोगिताहरु सञ्चालन भएको छ । ती विभिन्न खेल तथा गीत संगीत र दोहोरी प्रतियोगितालाई गाजा दह व्यवस्थापन समितिले संयोजन गरेको हो । त्यस बाहेक जैमिनी नगरपालिकाले पनि सहयोग गरेर व्यवस्थापनमा साथ दिएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

गाजाको दहलाई पर्यटकीय क्षेत्र बनाउन नगरपालिकाले योजनाको प्राथमिकतामा राखेको उपप्रमुख शर्माले बताउनुभयो । त्यस बाहेक गण्डकी प्रदेशले पर्यटकीय एकसय गन्तव्यमा गाजाको दहलाई समावेश गरेको छ । २ हजार ५ सय मिटरको उचाइमा रहेको गाजादह हिउँद वर्षातमा समान रहन्छ । त्यस बाहेक यहाँ स्नान गर्दा र सिद्धवराहको पूजा गर्दा आँटे ताकेको पुग्ने विश्वास छ । यहाँ सत्यवतीको समेत पूजा गरिन्छ ।

– रामकृष्ण बोहरा