03/31/2025, 07:09:06

नवलपुरको चम्घाका घरघरमा खानेपानी धारा


त्रिवेणी (नवलपरासी), १४ चैतः घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् । पहाडी क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पु¥याएपछि त्यो समस्या समाधान भएको छ ।

डोको र गाग्री बोकेर पानी लिन मुहानमा जानुपर्ने अवस्थाबाट घरमै खानेपानीको धारा आउँदा स्थानीय सत्रमाया कुमाल खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डोकोमा बोकेर ल्याएको पानी खाइन्थ्यो, गाग्री बोकेर हैरान हुन्थ्यौँ । कपडा बोकेर धुन लैजानुपर्ने, पानीका लागि पालो कुर्नुपर्ने अवस्था थियो । पालो कुर्दा खेताला जान पनि अबेर हुन्थ्यो, धेरै दुःख खेप्यौँ”, उहाँले भन्नुभयो,“ अचेल त घरमै खानेपानीको धारा आएकाले, चाहिएको बेला थाप्यो, खायो, लुगा धोयो । त्यही भएर गाग्री पनि रित्तो छ, पानी भरेर राखिरहनुपर्ने झण्झट छैन ।

बुद्धि विकास प्राविका प्रधानाध्यापक श्रीधर कुमाल पनि विगतमा खानेपानीको सुविधा नहुँदा विद्यार्थीले पानी बोक्नुपर्ने हुँदा पठनपाठनमा पनि असर परेको स्मरण गर्नुहुन्छ । “यहाँ बासिन्दाले खानेपानीको समस्या त कति झेले झेले ! विद्यालयमा समेत खानेपानी र सरसफाइमा समस्या थियो, पानी भर्न जाँदा विद्यार्थीको पठनपाठनै प्रभावित हुने अवस्था पनि आउँथ्यो तर हाल खानेपानी योजना सम्पन्न भएपछि त्यो समस्या टरेको छ । जीवनयापन सहज भएको छ”, उहाँले भन्नुभयो ।

खोक्रेनी पँधेरोस्थित मुहानबाट खानेपानी लिफ्टिङ गरेर चम्घा र ददरालीका १२० परिवारलाई खानेपानी वितरण गरिएको चम्घा ददराली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खड्कबहादुर कुमालले जानकारी दिनुभयो । मोटरबाट पानी तानेर गाउँको माथिल्लो भागमा निर्माण गरिएको ट्याङ्कीमा जम्मा गर्ने र त्यसैबाट घरघरमा वितरण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । आयोजना बनेपछि विगतको समस्या समाधान भएको र थप घरमा समस्या समाधानको प्रयास भइरहेको अध्यक्ष कुमालको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत यहाँ खानेपानीको बहुवर्षीय योजना सञ्चालन गरी हालै घरघरमा पानी पु¥याइएको इकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनुभयो । गण्डकी प्रदेश सरकारको हरेक घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यअनुसार चम्घामा करिब रु एक करोडको लागतमा लिफ्टिङ खानेपानी योजना निर्माण गरिएको उहाँले बताउनुभयो ।

लिफ्टिङ खानेपानी योजनाबाट मुहान व्यवस्थापन, रिजर्भ ट्याङ्की निर्माण, पाइप विस्तार मिटर जडान, उपभोक्ताको घरमा धारा जडानलगायत कार्य गरिएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ