काठमाडौँ, ९ चैत : सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’को टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण दर्शाउँछ ।
सामाजिक संजालमा भाइरल हुने प्रवृत्ति, त्यसले निम्त्याउने प्रभाव र असरको कथामा फिल्म बनेको हो । ‘पाँडे गाउँ’ नामक एक काल्पनिक गाउँको एक पात्र गोपालको भाइरल हुने चाहनाबाट कथा सुरु हुन्छ । उसको चाहनाले निम्त्याउने अन्तरविरोध, सम्बन्ध र द्वन्द्वलाई फिल्मले चित्रण गर्छ । टिजरले कलाकारको पात्र परिचय पनि दिएको छ । सौगात मल्ल शीर्ष पात्र गोपाल नामक पात्रको रोलमा छन् ।
बुद्धि तामाङ थने मास्टर, सृष्टि श्रेष्ठ मिस गीताञ्जली, राजाराम पौडेल सोमपाल, ऋषि धमला पत्रकारको भूमिकामा छन् । टिजरले दर्शकलाई पात्र परिचयसँगै कथावस्तुबारे संक्षिप्त जानकारी दिन्छ । कमेडी र सोसल ड्रामा जनरामा बनेको फिल्मले सामाजिक संजालको प्रवृत्तिलाई कटाक्ष गर्छ ।
यसअघि ‘छड्के’ र ‘छड्के २’ जस्ता ग्याङ्स्टर र ‘लालपूर्जा’ फिल्म बनाएका श्रेष्ठको यो चौंथो निर्देशकीय प्रोजेक्ट हो । ‘भाइरल गोर्खे’लाई द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण गरिएको हो ।
विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मको सह-निर्मातामा भुवन अधिकारी र निखिल पौडेल छन् । अमर महर्जनको छायांकन रहेको फिल्मलाई लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।