03/31/2025, 02:57:24

मिनीट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते


त्रिवेणी (रुकुमपश्चिम), ९ चैतः रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।

आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका छन् ।

लुम्बनी प्रदेश०३–००१क ००२७ नम्बरको मिनीट्रकको पछाडि भागमा मार्बलसँगै देवचन्द्र र मन्दिर बसेका थिए । उकालो मोडमा मार्बल बाँधेको डोरी चुडिएपछि बीचमा बसेका दुई मजदुर च्यापिएका हुन्”, प्रहरी निरीक्षक पाठकले भन्नुभयो । उहाँका अनुसार देवचन्द्रको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका छन् भने मन्दिरको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापश्चात प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का विकास सुनार फरार रहेका प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ