काठमाडौँ, ६ चैतः अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई लिएर सार्वजनिक रुपमा कडा आलोचना गर्नुभएको छ ।
रोबर्टसद्वारा जारी गरिएको एक संक्षिप्त वक्तव्य उहाँले भन्नुभएको छ, “दुई शताब्दीभन्दा बढी समयदेखि यो मान्यता स्थापित भएको छ कि महाभियोग न्यायिक निर्णयसँग सम्बन्धित असहमतिको लागि उपयुक्त प्रतिक्रिया होइन। यसका लागि सामान्य पुनरावलोकन प्रक्रियाको व्यवस्था गरिएको छ ।”
ट्रम्पले जिल्ला न्यायाधीश जेम्स बोसबर्गमाथि महाभियोग लगाउन माग गरेपछि रोबर्टसले राष्ट्रपति ट्रम्पलाई ‘असाधारण’ रूपमा आलोचना गर्नुभएको हो । ह्वाइट हाउसले राष्ट्रपतिका केही कार्यकारी कार्यहरूलाई अवरोध गर्ने जिल्ला अदालतहरूको कडा आलोचना गर्दै आएको छ। यद्यपि, ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेयता व्यक्तिगत रूपमा न्यायाधीशको महाभियोगको आह्वान गरेको यो पहिलो घटना हो ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मेडियामा भन्नुभएको छ, “दुःखको कुरा बाराक हुसेन ओबामाले, कट्टरन्थी समाजवादी कार्यकर्ता बोसबर्गलाई ‘एक न्यायाधीश’को रूपमा नियुक्त गर्नुभयो ।”
पोस्टमा उहाँले भन्नुभएको छ, “धेरै कुटिल न्यायाधीशहरू जस्तै यी न्यायाधीश अगाडि उपस्थित हुन म बाध्य छु। महाभियोग !! हुनुपर्छ।”
त्यसको केही घण्टापछि टेक्सासका रिपब्लिकन सांसद ब्रान्डन गिलले सामाजिक सञ्जाल एक्समा बोसबर्गविरुद्ध सदनमा महाभियोगका लेखहरू प्रस्तुत गरेको घोषणा गर्नुभएको छ ।
रोबर्टसको दुर्लभ भनाइपछि राष्ट्रपति ट्रम्पले अर्को पोस्टमा भन्नुभएको छ, “यदि कुनै राष्ट्रपतिलाई हत्यारा र अन्य अपराधीहरूलाई देशबाट बाहिर फ्याँक्ने अधिकार हुँदैन भने हाम्रो देश धेरै ठूलो सङ्कटमा पुग्नेछ र असफल हुनेछ।”
“‘कट्टरपन्थी वामपन्थी’ न्यायाधीश राष्ट्रपतिको भूमिका सम्हाल्न चाहन्छन्,” उहाँले थप्नुभयो ।
अमेरिकी सङ्घीय न्यायाधीशहरू सधैँ राष्ट्रपतिद्वारा मनोनीत हुन्छन् र ‘उच्च अपराध वा दुराचार’ को लागि प्रतिनिधि सभाद्वारा महाभियोग लगाई र सिनेटद्वारा दोषी ठहर गरेर मात्र हटाउन सकिन्छ।
सङ्घीय न्यायाधीशहरूको महाभियोग अत्यन्त दुर्लभ छ र पछिल्लो पटक सन् २०१० मा अमेरिकी कङ्ग्रेसले एक न्यायाधीशलाई हटाएको थियो।
युनिभर्सिटी अफ रिचमन्डका कानुनका प्राध्यापक कार्ल टोबियासले रोबर्टसविरूद्धको हस्तक्षेपलाई ‘अत्यन्त दुर्लभ’ भन्नुभएको छ । उहाँले ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सङ्घीय न्यायाधीशको निर्णयको आलोचना गरेपछि प्रधान न्यायाधीशले यस्तै टिप्पणी गरेको स्मरण गर्नुभयो ।
टोबियासले भन्नुभयो, “रोबर्टसले सङ्घीय बेन्चमा ओबामा न्यायाधीश, ट्रम्प न्यायाधीश, बुश न्यायाधीश वा क्लिन्टन न्यायाधीशहरू छैनन् भनेर जवाफ दिन बाध्य हुनुभएको छ ।”