सोमबार, चैत ०३, २०८१
‘भ्वाइस अफ अमेरिका’

ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै कर्मचारी प्रशासनिक बिदामा

‘भ्वाइस अफ अमेरिका’ ले १ जनवरी १९९२ देखि ३१ डिसेम्बर १९९३ सम्म नेपाली भाषामा पनि सेवा सञ्चालन गरेको थियो 


काठमाडौँ, ४ चैत :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि ‘भ्वाइस अफ अमेरिका’ का सबै पूर्णकालीन कर्मचारी बिदामा राखिएको छ । ४९ भाषामा प्रसारण हुँदै आएको ‘भ्वाइस अफ अमेरिका’ का पत्रकार, निर्माता र सहायकसहित करिब १३ सय कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको हो ।

भ्वाइस अफ अमेरिका’ को माउ संस्था ‘यूएस एजेन्सी फर ग्लोबल मिडिया (यूएसएजीएम)’ र अन्य ६ संस्थाको सञ्चालन खर्च कानुनले तोकेअनुसार न्यूनतम बनाउन निर्देशन दिने कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले गत शुक्रबार हस्ताक्षर गरेका थिए । त्यसलगत्तै यूएसएजीएमका मानव संसाधन विभागका निर्देशक क्रिस्टल जी थोमसले ‘भ्वाइस अफ अमेरिका’ का पूर्णकालीन कर्मचारीलाई इमेल गरेर प्रशासनिक बिदामा राखिएको सूचना दिएका छन् ।

सीबीएस न्युजका अनुसार रिपोर्टर र वरिष्ठ प्रबन्धकसम्मका सबै पूर्णकालीन कर्मचारीलाई पठाइएको इमेलमा फ्रिलान्सर, स्ट्रिन्जर तथा मासिक सम्झौता वा असाइनमेन्ट भएकालाई भुक्तानी दिने कुनै उपाय नभएकाले काम गर्न बन्द गर्नुपर्ने उल्लेख छ । आगामी जुनमा सम्झौता अवधि समाप्त हुने कर्मचारीलाई भने बिदासम्बन्धी सूचना पठाइएको छैन । शनिबार सूचना प्राप्त गरेका एक पत्रकारले सीबीएस न्युजसँग भनेका छन्, ‘अमेरिकाले रुस र चीनविरुद्धको अर्को नरम शक्ति गुमाएको छ ।

भ्वाइस अफ अमेरिका’ संघीय सरकारको खर्चमा सञ्चालित अन्तर्राष्ट्रिय प्रसारण नेटवर्क हो । सन् १९४२ मा नाजी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको ‘भ्वाइस अफ अमेरिका’ अमेरिकी अन्तर्राष्ट्रिय प्रसारकहरूमध्ये सबैभन्दा ठूलो र पुरानो हो । यसले उत्पादन गर्ने डिजिटल, टीभी र रेडियो सामग्री विश्वभरका सम्बद्ध स्टेसनका लागि वितरण गरिन्छ । यसले १ जनवरी १९९२ देखि ३१ डिसेम्बर १९९३ सम्म नेपाली भाषामा पनि सेवा सञ्चालन गरेको थियो । ‘भ्वाइस अफ अमेरिका’ सातामा ३६ करोड मानिसले हेर्ने गरेका छन् ।

भ्वाइस अफ अमेरिका’ का निर्देशक माइकल अब्रामोविट्जले लोकतन्त्र र स्वतन्त्रताका लागि विश्वव्यापी रूपमा लडेको संस्थाको आवाज बन्द हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । ‘८३ वर्षमा पहिलो पटक भ्वाइस अफ अमेरिकालाई मौन पारिएको छ । यसमा दुःख लागेको छ,’ अब्रामोविट्जले लिंक्डइनमा लेखेका छन् । संस्थामा सुधार आवश्यक रहेको र त्यसमा केही प्रगति पनि गरेको जनाउँदै उनले पछिल्लो कदमबाट भने ‘भ्वाइस अफ अमेरिका’ लाई महत्त्वपूर्ण अभियान पूरा गर्न असमर्थ बनाउने उल्लेख गरेका छन् । ‘इरान, चीन र रुसलगायतका मुलुकले अमेरिकालाई बदनाम गराउन झूटा कथा सिर्जना गर्न अर्बौं डलर डुबाइरहेका बेला संस्थाको अभियान महत्वपूर्ण छ,’ उनले भनेका छन् ।

यूएसएजीएम’ ले रुस र युक्रेनलगायत पूर्वी युरोपका मुलुकमा प्रसारण हुँदै आएको ‘रेडियो फ्री युरोप/रेडियो लिबर्टी’ का लागि अनुदान पनि बन्द गरेको छ । चीन र उत्तर कोरियामा प्रसारण हुँदै आएको ‘रेडियो फ्री एसिया’ को अनुदान पनि बन्द गरिएको छ । रेडियो फ्री एसियाका अध्यक्ष बे फाङ र रेडियो फ्री युरोप/रेडियो लिबर्टीका प्रमुख वित्तीय अधिकारी जोसेफ लाटेललाई इमेल गरेर संघीय अनुदान रोकिएको जानकारी दिइएको छ । रेडियो फ्री एसियाका अध्यक्ष बेले अनुदान रद्द गर्नु तानाशाहका लागि इनाम भएको प्रतिक्रिया दिएका छन् ।

रेडियो फ्री युरोप/रेडियो लिबर्टी’ले आफ्नो संस्थालाई रुसी सरकारले ‘अवाञ्छनीय’ घोषणा गरेको जनाएको छ । आफ्ना सामग्री मन पराउने वा सेयर गर्ने रुस तथा रुसले कब्जा गरेको क्षेत्रका श्रोताले जरिवाना तिर्नुपर्ने वा जेल सजाय भोग्नुपर्ने जोखिम रहेको उल्लेख गरिएको छ ।

भ्वाइस अफ अमेरिका’ का दक्षिण कोरिया ब्युरो प्रमुख विलियम ग्यालोले आफूलाई कम्पनीका सबै प्रणाली र पहुँचमा बन्देज लगाइएको बताएका छन् । ‘मैले जहिले पनि चाहने भनेको सिधा प्रहार गर्ने र सत्य बोल्ने हो । त्यसबाट कसैलाई खतरा हुन सक्छ भने हुन दिनुस्,’ उनले समाचार संस्था रोयटर्ससँग भनेका छन् । अमेरिकाका आधिकारिक नीति व्याख्या गर्न र अंग्रेजी नबुझ्ने विदेशीलाई लोकतन्त्र किन उत्तम राजनीतिक प्रणाली हो भनेर बुझाउन ‘भ्वाइस अफ अमेरिका’ ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अर्का एक पत्रकारको भनाइ छ ।

यूएसएजीएमकी विशेष सल्लाहकार कारी लेकले विज्ञप्ति जारी गर्दै यूएसएजीएमलाई ‘अमेरिकी करदाताका लागि विशाल फोहोर र बोझ’ भनी टिप्पणी गरेकी छन् । कानुनअन्तर्गत संस्थालाई न्यूनतम सम्भावित आकारमा संकुचन गर्ने उनको भनाइ छ । गत डिसेम्बरमा ट्रम्पले ‘भ्वाइस अफ अमेरिका’ को नेतृत्व गर्ने व्यक्तिका रूपमा पूर्वसमाचार प्रस्तोता लेकको नाम अघि सारेका थिए । लेकले गत महिना यूएसएजीएमको विशेष सल्लाहकारका रूपमा शपथ लिएकी थिइन् । यूएसएजीएम विघटन भए उनको पद के हुन्छ भन्ने स्पस्ट छैन ।

लेकले गत डिसेम्बरको एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई थाहा छ, उनीहरूले पहिले नै केही राम्रा काम गरिरहेका छन् र मैले यहाँ र त्यहाँ अलिअलि हेरिरहेको छु । म ट्रम्प टेलिभिजन र मेक अमेरिका ग्रेट अगेन टेलिभिजन बनाउन त्यहाँ गएकी होइन । भ्वाइस अफ अमेरिका त्यस्तो होइन ।

चेक गणतन्त्रका विदेशमन्त्री जान लिपाभ्स्कीले ‘रेडियो फ्री युरोप’ अधिनायकवादी शासन अन्तर्गतका जनताका लागि ‘बत्ती’ का रूपमा रहेको बताएका छन् । ‘बेलारुसदेखि इरानसम्म, रुसदेखि अफगानिस्तानसम्म रेडियो फ्री युरोप र भ्वाइस अफ अमेरिका स्वतन्त्रताबिना बाँचिरहेका मानिसका लागि केही निःशुल्क स्रोतमध्ये हुन्,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

वासिङटन डीसीस्थित नेसनल प्रेस क्लबका अध्यक्ष माइक बाल्सामोले विज्ञप्ति जारी गर्दै ‘भ्वाइस अफ अमेरिका’मा गरिएको कटौतीले स्वतन्त्र र निष्पक्ष प्रेसप्रति अमेरिकाको प्रतिबद्धतालाई कमजोर बनाएको टिप्पणी गरेका छन् । ‘भ्वाइस अफ अमेरिकाले दशकौंदेखि विश्वभरका दर्शकका लागि तथ्यमा आधारित स्वतन्त्र पत्रकारिता गर्दै आएको छ, खास गरी प्रेस स्वतन्त्रता नभएका देशहरूमा,’ बाल्सामोले भनेका छन् । फ्रान्सको पेरिसस्थित ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ ले पनि ट्रम्प प्रशासनले चालेको कदमको आलोचना गरेको छ । ‘यस कदमले विश्वभर प्रेस स्वतन्त्रतालाई खतरामा पार्छ र सूचनाको स्वतन्त्र प्रवाहलाई समर्थन गर्ने अमेरिकी इतिहासलाई अस्वीकार गर्छ,’ रिपोर्टर्स विदाउट बोर्डर्सले भनेको छ ।

केही रिपब्लिकन नेताले ‘भ्वाइस अफ अमेरिका’ र अन्य सार्वजनिक रूपमा वित्त पोषित सञ्चार गृहलाई रुढिवादीविरुद्धका पक्षपाती भएको आरोप लगाउने गरेका छन् । अर्बपति इलन मस्क नेतृत्वको सरकार दक्षता विभाग (डज) ले सरकारी खर्च कटौती गर्ने प्रयास स्वरूप त्यस्ता संस्था बन्द गर्नुपर्ने उनीहरूको भनाइ छ । डजले २३ लाख संख्याको संघीय कर्मचारी बलमा एक लाखभन्दा बढीको जागिर कटौती गरिसकेको छ । डजले विभिन्न विदेशी सहायता रोकेको छ र हजारौं कार्यक्रम तथा सम्झौता रद्द गरेको छ ।

यूएसएजीएममा जनशक्ति कटौतीका विषयमा मस्कले पनि प्रतिक्रिया दिएका छन् । ‘विश्वव्यापी सरकारी प्रचार एजेन्सीलाई बन्द गर्दा यसलाई अस्थायी रूपमा ‘डिपार्टमेन्ट अफ प्रोपागान्डा एभ्रिवेयर (डोप) नाम दिइएको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । अमेरिकी कंग्रेसमा पेस गरिएको एक प्रतिवेदनअनुसार सन् २०२४ मा ८८ करोड ६० लाख अमेरिकी बजेट रहेको यूएसएजीएमले करिब ३ हजार ५ सय कामदारलाई रोजगारी दिँदै आएको छ ।

ट्रम्पको कार्यकारी आदेशले फेडेरल मेडिएसन एन्ड कन्सिलियसन सर्भिस, वुड्रो विल्सन इन्टरनेसनल सेन्टर फर स्कोलर्स, इन्स्टिच्युट अफ म्युजियम एन्ड लाइब्रेरी सर्भिसेज, यूएस इन्टरएजेन्सी काउन्सिल अन होमलेसनेस, कम्युनिटी डेभलपमेन्ट फाइनान्सियल इन्स्टिच्युसन फन्ड र माइनोरिटी बिजिनेस डेभलपमेन्ट एजेन्सीलाई पनि लक्ष्य गरेको छ । यी सबै संस्थालाई कानुनद्वारा आवश्यक न्यूनतम उपस्थिति र कार्यमा सीमित पार्ने जनाइएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ट्रम्पका कार्यकारी आदेशका कारण करदाता अब कट्टरपन्थी प्रचारमा अड्कनु नपर्ने अवस्था सुनिश्चित गर्ने जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ