काठमाडौँ, २ चैत ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गर्नुभएको छ । उहाँले मस्कोमा भएको वार्तालाई ‘धेरै राम्रो र फलदायी’ युद्धविराम छलफल भन्नुभएको छ ।
तीन वर्षको युद्धपछि रुस र युक्रेनबीच ३० दिने युद्धविरामको योजनाबारे छलफल गर्न उहाँका विशेष दूतले मस्कोमा पुटिनसँग वार्ता गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो । “हामीले हिजो रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै राम्रो र उत्पादक छलफलहरू गर्यौँ र यो भयावह, रक्तपातपूर्ण युद्ध अन्त्यमा समाप्त हुनसक्ने धेरै राम्रो सम्भावना छ”, ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा भन्नुभयो । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पछि पत्रकारहरूलाई स्पष्ट पार्दै ट्रम्प आफैँले बिहीबार राति पुटिनसँग कुरा नगर्नुभएको बताउनुभयो । उहाँले शुक्रबार कुनै कल निर्धारित नभएको उल्लेख गर्दै ‘तर त्यो स्पष्ट रूपमा परिवर्तन हुनसक्छ’ भन्नुभयो ।
गत हप्ता ट्रम्पले आफू कार्यालयमा फर्किएपछि फेब्रुअरीमा आधिकारिक रूपमा घोषणा गरिएको फोनवार्ता बाहेक पुटिनसँग ‘धेरै पटक’ कुरा गरेको बताउनुभएको थियो । आधिकारिक फोनवार्ताले वर्तमान युद्धविराम प्रयासलाई अघि बढाएको हो । शुक्रबार आफ्नो पोस्टमा ट्रम्पले पुटिनलाई ‘हजारौँ’ युक्रेनी सैनिक ‘पूर्ण रूपमा रूसी सेनाले घेरिएको, र धेरै खराब र कमजोर स्थितिमा रहेको’ भन्दै एउटा असामान्य अपील पनि जारी गर्नुभयो । किएभले तुरुन्तै ट्रम्पको दावीलाई अस्वीकार गर्यो ।
“मैले राष्ट्रपति पुटिनलाई उनीहरूको ज्यान बचाउन आग्रह गरेको छु । यो दोस्रो विश्वयुद्धपछि कहिल्यै नदेखेको एउटा भयानक नरसंहार हुनेछ । भगवानले ती सबैलाई आशीर्वाद दिनुहोसु !!!” ट्रम्पले लेख्नुभएको छ ।

मस्कोले गत हप्ता युक्रेनको धेरैजसो सेनालाई रुसको कुर्स्क क्षेत्रबाट बाहिर निकाल्दै आएको छ । कुर्स्कको केही भाग किएभले गत वर्ष कब्जा गरेको थियो । सन् २०१४ मा क्रिमिया कब्जा गरेर सन् २०२२ फेब्रुअरीमा पूर्ण आक्रमण सुरु गरेदेखि युक्रेनको करिब पाँचौँ भाग ओगटेको रुससँग भूमि साटासाट गर्न कुर्स्क किएभको केही मोलतोल गर्ने चिप्सहरू मध्ये एक थियो ।
पुटिनले ट्रम्पलाई युद्धविरामका बारेमा ‘थप’ सङ्केत पठाएको र सम्झौताको सम्भावनाका बारेमा ‘सावधानीपूर्वक आशावादी’ रहेको बताएको रुसले शुक्रबार भनेको थियो । अमेरिकी दूत स्टिभ विट्कफले संयुक्त अमेरिकी–युक्रेनी योजनाको विवरणहरू प्रस्तुत गर्न बिहीबार राति पुटिनसँग भेट गर्नुभयो ।
क्रेमलिनले ट्रम्प र पुटिनबीच ‘कुराकानी आवश्यक छ’ भन्ने कुरामा दुवै पक्ष सहमत भएको तर समय निर्धारण हुन बाँकी रहेको बताएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















